दरमखोलाले व्यावसायिक उत्पादन थाल्यो

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

बागलुङको गलकोटमा निर्माण भएको दरमखोला हाइड्रोपावरले व्यावसायिक उत्पादन थालेको छ। गलकोट नगरपालिका– ८, काँडेबासमा ड्याम निर्माण गरी साढे चार किलोमिटर पश्चिम मनेवापाटामा विद्युतगृह निर्माण गरी विद्युत् उत्पादन सुरु गरेको हो । ०७३ को अन्त्यदेखि निर्माण सुरु भएको हाइड्रोबाट व्यावसायिक उत्पादन सुरु गरिएको हो । 

दरमखोला हाइड्रो इनर्जी लिमिटेडमार्फत् सञ्चालनमा आएको हाइड्रोपावर गत असोज ३० गते केन्द्रीय प्रसारणलाइनमा जडान गरिएको थियो । ०६५ मा हाइड्रोपावर निर्माण गर्ने भनिए पनि २०७३ देखि मात्रै काम सुरु भएको हाइड्रोपावरका सञ्चालक रामप्रसाद कँडेलले जानकारी दिए । कँडेलका अनुसार कोभिड र दरमखोलामा आएको बाढीका कारण काम सम्पन्न हुन निर्धारित समयभन्दा ढिला भएको हो । हाइड्रोको विद्युत् इनर्जीको सम्झौताअनुसार गत असोज २१ र २२ गते उत्पादन गरी विद्युत् प्राधिकरणलाई दिनुपर्ने विद्युत् दिएपश्चात् व्यावसायिक उत्पादन सुरु भएको कँडेलले जानकारी दिए । सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले निर्माण गर्ने भने पनि अहिले दरमखोला हाइड्रो इनर्जी प्रालिमार्फत निर्माण कार्य भएको  हो । 

हाइड्रोबाट बर्खामा ९.६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने भए पनि हिउँदको याममा ६.६ मेगावाट मात्रै उत्पादन भइरहेको प्लान्ट इन्जिनियर मिथिलेस चौधरीले जानकारी दिए । लामो समयको प्रयासपश्चात् दरमखोला हाइड्रोपावरलाई नेपाल विद्युत् प्राधिकरणको प्रसारणलाइनमा जोडिएको छ, चौधरीले भने, ‘विद्युतगृहभन्दा १४ किलोमिटर पूर्वमा रहेको हरिचौर सबस्टेसनमा लाइन पुर्याइएको छ जुन गलकोट नगरपालिकामा नै पर्छ । प्रसारणलाइनमा एक महिनाअगाडि नै जोडे पनि व्यावसायिक उत्पादन भने अहिले बल्ल नियमित हुन थालेको छ, अब नियमित उत्पाद हुनेछ। हाइड्रोपावर निर्माण गर्दा विभिन्न अवरोध हुँदा निर्माण सम्पन्न गर्न समय लागेको दरमखोला हाइड्रो इनर्जीका अध्यक्ष नरबहादुर पुन निरजले बताए ।

सुरुमा गोर्खा हाइड्रोपावर कम्पनीले बनाउने गरी इजाजत पाए पनि उक्त कम्पनीले काम नगरेपछि आफूहरूले सुरु गरेको पुनको भनाइ छ। निर्माण सम्पन्न गर्न दुई अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अध्यक्ष पुनले बताए । हाइड्रोपावरबाट विद्युत् उत्पादन हुन थालेपछि बागलुङका विकट गाउँबस्तीमा विद्युत् पुग्ने अपेक्षा लिएको छ । ‘बागलुङमा अहिलेसम्म बनेकामध्ये दरमखोला हाइड्रोपावर सबैभन्दा ठुलो हाइड्रोपावर हो, यसको सर्भे धेरै वर्षअगाडि भए पनि विभिन्न समस्याका कारण अलि ढिला काम थाल्यौँ,’ अध्यक्ष पुनले भने, ‘यद्यपि, अहिले उत्पादन गर्ने स्थितिमा आएको छ, ०७२ सालमा  कम्पनीले इजाजत पाएको थियो, अहिले सम्पन्न भएर सकियो ।’ यहीँका स्थानीयको लगानीमा आफ्नै गाउँठाउँमा विद्युत् उत्पादन हुँदा स्थानीयले पनि गौरव गरेको पुनले बताए ।  

सुझावित समाचार