मोटरसाइकल र ट्रयाक्टर ठोक्किँदा एकजनाको मृत्यु, एक घाइते

मंगलबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

बाराको कलैया उपमहानगरपालिका– २४, श्रीपुर बेलवाडीस्थित पिलुवा–कलैया सडकखण्डमा सोमबार दिउँसो २:४० मा भएको सवारी दुर्घटनामा एकजनाले ज्यान गुमाएका छन् भने एकजना घाइते भएका छन्।

पिलुवाबाट कलैयातर्फ गइरहेको प्र ०२–०३–०१८ प ३६९५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको प्रदेश २–०३–०१ त २६७६ नम्बरको इँटा लोड ट्रयाक्टरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

ठक्करबाट मोटरसाइकलचालक निजगढ नगरपालिका– ९, ठाडोलाइनका ३६ वर्षीय मिलन मैनाली गम्भीर घाइते भएका थिए। तर, उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा मैनालीलाई करिब ३:१५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। त्यस्तै, मोटरसाइकलमै सवार निजगढका २७ वर्षीय रविन भट्टराईकाे दाहिने खुट्टामा चोट लागेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकल र ट्रयाक्टर दुवै प्रहरी चौकी जैतापुरको नियन्त्रणमा राखिएको छ। तर, ट्रयाक्टरचालक फेटा गाउँपालिका– ३, फेटाका ३३ वर्षीय सर्फुदिन देवान फरार रहेको र उनको खोजतलास तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

सुझावित समाचार