आफ्ना हजुरबालाई उदास देखेर नातिले प्रश्न गरे– हजुरबा ! हजुर चिन्तितजस्तो देखिनुहुन्छ नि किन ? हजुरबाले भने– केही होइन, यसो आफ्नो जिन्दगीबारे सोचिरहेको थिएँ । नातिले उत्साहित हुँदैन भने– मलाई पनि आफ्नो जिन्दगीबारे केही–केही बताउनुहोस् न हजुरबा !
नातिले कर गरेपछि हजुरबाले भने– म सानो हुँदा ममाथि कुनै जिम्मेवारी थिएन । मेरो कल्पनाको सीमा थिएन । त्यसैले, म यो संसार बदल्नेबारे सोच्ने गर्थें । जब म केही ठुलो भएँ, मेरो बुद्धि पनि केही बढ्यो । संसार बदल्ने काम निकै कठिन लाग्यो, त्यसपछि मैले आफ्नो लक्ष्यलाई केही सानो बनाएँ र देश बदल्ने अठोट गरेँ ।
तर, केही समय बितेपछि मलाई लाग्यो, यो देश बदल्नु कुनै मामुली काम होइन । जोकोहीले यस्तो गर्न सक्दैन । त्यसैले, मैले आफ्नो घरपरिवार र निकट आफन्तलाई बदल्ने सोच बनाएँ ।
तर, अपसोच, मैले त्यही पनि गर्न सकिनँ । अब त म यस संसारको केही दिनको पाहुना मात्र हुँ । मलाई अहिले आएर लाग्न थालेको छ, मैले संसार बदल्ने सपना देख्नुको साटो आफैँलाई बदल्ने सपना देखेर त्यसैअनुरूप अघि बढेको भए म पक्कै त्यस कार्यमा सफल हुने थिएँ । म बदलिएको देखेर मेरो परिवार र आफन्त पनि बदलिने थिए । के थाहा, मेरो परिवारलाई हेरेर अन्य परिवार हुँदै देशै बदलिन पनि सक्थ्यो । हुँदाहुँदा हाम्रो देशलाई हेरेर संसार बदलिन पनि बेर थिएन ।
बिस्तारै हजुरबाका आँखा बन्द हुँदै गए । उनले सानो स्वरमा भने– बाबु, तिमीले मेरोजस्तो गल्ती नगर्नू । केही बदल्नुअघि आफैँलाई बदल्नू । बाँकी सबै आफैँ बदलिँदै जान्छ ।