जेनजी प्रदर्शनका घाइते र सहिद परिवारलाई समेटेर ‘राष्ट्रिय परिवर्तन पार्टी’ दर्ता भएको छ। सोमबार निर्वाचन आयोगले ‘राष्ट्रिय परिवर्तन पार्टी’लाई दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हाे। चुनावअघि नै आफ्ना प्रमुख माग पूरा गर्ने उद्देश्यले दल दर्ता गरेको उक्त पार्टीका नेताहरुले बताएका छन्।
भ्रष्टाचारविरुद्ध तत्काल ठोस कदम शुरु गर्नुपर्ने, प्रत्यक्ष कार्यकारीको दिशामा स्पष्ट रोडम्याप तयार गर्नुपर्ने, सहिदहरूको रगतको सम्मान हुनुपर्ने तथा घाइतेहरूको उपचार, पुनर्स्थापना र भविष्यको ग्यारेन्टी सुनिश्चित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ।
एमालेलगायत दलका कार्यक्रमले जेनजीको सपनाविपरीत परिणाम आउन सक्ने संकेत दिएको भन्दै उनीहरुले आफ्ना मुद्दा छाडेर अर्काको चिह्नमा भोट नहाल्ने जनाएका छन्।
‘जब चुनाव फेस गर्ने पर्ने अवस्था बनाइँदैछ, हामी किन हाम्रै मुद्दा छोडेर अर्काको चिह्नमा भोट हालिदिन कुर्ने ? हामी बुझ्छौं( हामी जितेर मात्र हाम्रा मागहरू हामी स्वयं पूरा गर्न सक्छौं। यही बुझाइ, यही जिम्मेवारी र यही दृढ हेतुले यो पार्टी खोलेको हो,’ सो पार्टीका नेताहरुले वक्तव्यमार्फत् भनेका छन्।