प्रकाश सुवेदीको ‘नआइदे याद’ मा बिछोड र वियोग दुवै झल्किन्छ

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

गीतकार प्रकाश सुवेदीको शब्द, राजकुमार बगरको संगीत , साहस शाक्यको संगीतसंयोजन र  गायिका अनू चौधरीको स्वरमा तयार भएको गीतले यो हप्ता नेपाली सङ्गीत बजार तताएको छ। अजय रेग्मीको छायांकन, वीरेन्द्र भाट `बिपिन´ को निर्देशन तथा सम्पादन, महेश पौड्यालको अंग्रेजी भाषानुवाद रहेको गीतको म्युजिक भिडियोमा  सुधिर श्रेष्ठ, सोमिया कार्की, दीपेन्द्र राज गिरी, देवी पराजुली तथा टिकराम पाण्डे लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

भावनात्मक गहिराइ, सशक्त शब्दरचना, सुमधुर स्वर र कलात्मक दृश्य संयोजनका कारण यस गीतले छोटो समयमै दर्शक–श्रोतालाई आकर्षित गर्न सफल भएको छ।

गीतको भावपक्ष

यस गीतमा सर्जक प्रकाश सुवेदीले बिछोड र वियोग दुवैको गहिरो अनुभूति काव्यिक ढङ्गले प्रस्तुत गरेका छन्। “नआइदे याद, नआइदे वर्षात व्यर्थैमा भिजाउन” भन्ने प्रारम्भिक पङ्क्तिबाटै स्मृतिपछिको पीडा र आत्मसंयमको भावना उजागर हुन्छ। गीतले हराएको प्रेमको करुणा मात्र होइन, त्यसपछिको आत्मसंवाद र मनोवैज्ञानिक द्वन्द्वलाई पनि सशक्त रूपमा चित्रण गर्छ।

“आकाशको झरी छाताले छेक्छ, मनैको छेकिन्न” जस्ता पङ्क्तिहरूमा सर्जकले बाहिरी संसार र भित्री भावनाबीचको अन्तरद्वन्द्वलाई रूपकका माध्यमबाट कलात्मक ढङ्गले प्रस्तुत गरेका छन्। गीतमा प्रयोग भएका प्रतीक र बिम्बहरूले वियोगको सौन्दर्य र संवेदनशीलतालाई सजीव बनाएका छन्।

अन्त्यमा, आउने 

“यो मनभित्र त्यो रूपचित्र छ भने मेटियोस् 

“बिर्षाउने कुनै ओखतीमुलो चाँडै नै भेटियोस्” भन्ने पङ्क्तिले सर्जकको आत्ममुक्तिको चाहना झल्काउँछ  जहाँ बिर्सन खोज्ने प्रयासभित्र पनि प्रेमको गहिरो छायाँ बाँकी रहन्छ। समग्रमा ‘नआइदे याद’ उत्कृष्ट सृजनाको नमूना हो।

भिडियो समीक्षा

भिडियोमा प्रयोग गरिएका दृश्यहरू सरल तर प्रभावकारी छन्। सम्झनाका तस्बिरहरू, मौन आँसु र एक्लोपनाका भावहरूले कथाको भावनात्मक धरातललाई सशक्त बनाएका छन्। अजय रेग्मीको छायांकन उत्कृष्ट र सजीव छ, जसले पात्रका नजिकका भाव र दृश्यको संवेदनशीलतालाई सटीक रूपमा समातेको  छ।

वीरेन्द्र भाट बिपिनको निर्देशन र सम्पादनले कथा र भावनाबीच सन्तुलन ल्याएको छ, जसले भिडियोको सम्पूर्ण प्रभावलाई अझ गहिरो बनाएको छ। सिनेमाटोग्राफीमा प्रयोग गरिएको लाइट, एङ्गलको प्रभावले गीतको भावनात्मक परिवेशलाई जीवन्त बनाएको छ।

समग्रमा, “Na Aaide Yaad” भिडियोले स्मृति, प्रेम र वियोगको संवेदनशीलतालाई कलात्मक, संगीतात्मक र दृश्यात्मक दृष्टिले सशक्त रूपमा प्रस्तुत गरेको छ। शब्द, संगीत, स्वर, अभिनय, दृश्य र सम्पादनको सन्तुलनले यसलाई एक सम्पूर्ण भावनात्मक अनुभव बनाएको छ। जसले दर्शकलाई गीतको गहिरो भावनामा पूर्ण रूपमा डुबाउँछ।

सुझावित समाचार