एनआइसी एसिया बैंक र एनसिएचएलबिच एनपिएस–एनसिएच तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य तथा एनसिएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन्।
एनसिएचएलले हालै एनपिएस–एनसिएचको पूर्वाधारको तयारी पूरा भएको घोषणा गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपालपे कार्ड इस्युइङ र अक्वायरिङका लागि आफ्नो स्विच इन्टिग्रेट गर्न आग्रह गरेसँगै ती संस्था एनपिएस–एनसिएच र नेपालपे कार्डमा आबद्ध भइरहेका छन्। नेपालपे पूर्वाधारको कमर्सियल रोलआउटपश्चात् एनआइसी एसिया बैंकले ग्राहकहरूका लागि उक्त कार्ड इस्यु तथा अक्वायर गर्न सक्नेछन्।
एनपिएस–एनसिएचलाई विभिन्न कार्ड स्विचहरूबिच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरूको राउटिङ र सेटलमेन्टका लागि एक सेन्ट्रल कार्ड स्विचको रूपमा स्थापना गरिँदै छ। उक्त प्रणालीको पूर्ण कार्यान्वयनपश्चात् डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरूको विकास तथा प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।