लहानमा कानको विशेष उपचार सेवा थालनी

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

विशेषज्ञ चिकित्सकहरूको सामूहिक प्रयासमा सिराहाको लहानमा निजी क्षेत्रबाट कानको विशेष उपचार सेवा थालनी गरिएको छ । पूर्व–पश्चिम लोकमार्गसँगै जोडिएको लहान– ३ स्थित अस्पताल चोकनजिकै सोमबारदेखि आधुनिक प्रविधिमा आधारित ‘सम्पूर्ण कान स्वास्थ्य केन्द्र’ मा कानको विशेष उपचार सेवा थालिएको हो ।

केन्द्रको विधिवत् उद्घाटन गर्दै लहान नगर प्रमुख महेशप्रसाद चौधरीले कानको उपचारका लागि अतिरिक्त खर्च गरेर लहानबाहिर जानैपर्ने बाध्यतामा रहेका बिरामीहरूलाई सुलभ शुल्कमा गुणस्तरीय सेवा दिन आग्रह गरे । ‘केन्द्रले समाजका विभिन्न वर्गका कानका बिरामीले सेवा लिन सक्ने गरी शुल्क लिने र रोगको निदान, उपचार र परामर्श दिन सक्नुपर्छ,’ उनले भने । 

केन्द्रका अध्यक्षसमेत रहेकमा किस्ट मेडिकल कलेजका सहप्राध्यापक नाक, कान, घाँटी विशेषज्ञ डा. ऋषि भट्टले केन्द्रबाट नियमित रूपमा विशेषज्ञ चिकित्सकहरूमार्फत कानसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइने बताए । ‘दूरबिनको सहयोगमा विनाचिरफार कानको जाली टाल्ने, जाली फेर्ने, कानको हड्डी खिइने, जाम हुनेसहित कान पाक्ने, कम सुन्ने, रिँगटा लाग्ने, अनावश्यक रूपमा कान कराइरहनेलगायतका समस्याको निदान, उपचार र परामर्श दिइने छ,’ उनले भने । 

केन्द्रमार्फत नेपालका ख्यातिप्राप्त नाक, कान, घाँटी विशेषज्ञहरूबाट छिटोछरितो र गुणस्तरीय सेवाका लागि आवश्यक जनशक्ति व्यवस्थापन गरिएको उनले बताए । ‘केन्द्रमा कानसम्बन्धी अप्रेसनसहित सबै सेवा उपलब्ध हुन्छ,’ उनले भने, ‘नाक र घाँटीसम्बन्धी रोगको अप्रेसनबाहेक निदान, उपचार र परामर्श सेवा उपलब्ध हुनेछ ।’ केन्द्र उद्घाटन समारोहमा रक्त सञ्चार केन्द्र लहानका प्रमुख मनीष यादव, स्थानीय समाजसेवी बद्री यादवसहित सञ्चारकर्मीहरूको उपस्थिति थियो । केन्द्रमार्फत कानसम्बन्धी ४० प्रकारका सेवा प्रवाह गरिने व्यवस्थापन पक्षले जनाएको छ । 

केन्द्रले पाँच वर्षमुनिका बालबालिका तथा ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बहिरंग सेवामा शतप्रतिशत र मंसिर महिनामा अन्य उमेर समूहका बिरामीका लागि बहिरंग, सामान्य शल्यक्रिया तथा श्रवण यन्त्रमा क्रमशः ५०, ३० र १५ प्रतिशत छुट दिइएको जनाएको छ । 

सुझावित समाचार