हुलाकी राजमार्गका अलपत्र दुई पुल : कमला र सहजामा पुल नबन्दा दिनहुँजसो दुर्घटना

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण
हुलाकी राजमार्गका अलपत्र दुई पुल : कमला र सहजामा पुल नबन्दा दिनहुँजसो दुर्घटना

ठेकेदारले पुल अलपत्र छोड्दासमेत चासो नदिएको भन्दै संघ र प्रदेश सरकारको विरोधस्वरूप सर्वसाधारणको प्रदर्शन

पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गतको कमला नदी र सहजा खोलाको पुल निर्माण अलपत्र छाड्दासमेत निर्माण कम्पनीलाई कारबाही नगरेपछि सर्वसाधारणले सबै तहका सरकारको विरोध गर्दै सिराहामा प्रदर्शन गरेका छन् ।

सिराहा र धनुषा जिल्लालाई जोड्ने कमला पुल र औरही तथा अर्नमा गाउँपालिका जोड्ने सहजा पुल अलपत्र छोडेको विरोधमा आइतबार सिराहा विकास मञ्चको नेतृत्वमा विरोध प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीले सरकारको विरोध गर्दै सिराहा बजार परिक्रमा गरेका थिए । सरकारको प्रतीकात्मक पुत्ला बनाएर जलाउन खोज्दा प्रहरीले हस्तक्षेप गरेको औरही– ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले बताए । 

निर्माणको अन्तिम चरण रहेको कमला पुल गत बर्खामा भासिएपछि अलपत्र अवस्थामा छ । यस्तै, सहजा खोलाको पुल ०८१ मै निर्माण गरिसक्नुपर्ने सम्झौता भए पनि अझैसम्म क्याब मात्र खडा भएको छ । पुल अलपत्र छोड्दा सर्वसाधारणले सास्ती खेप्दै आएको मञ्चका संयोजकसमेत रहेका सामाजिक अभियन्ता रामरिझन यादवले बताए । ‘संघ र प्रदेश सरकार, सांसदहरू आँखामा कालो चस्मा र कानमा तेल हालेर बसेका छन्,’ उनले भने ‘पुल नहुँदा जनताले भोग्दै आएको सास्तीको नजरअन्दाज गरेकाले ध्यानाकर्षण गराउन पुत्लाको शवयात्रा निकालिएको हो ।’

३१ जेठ ०६८ मा साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी कमला नदीको (४६९.२ मिटर लामो) पुल बनाउने सम्झौता भएको थियो । सम्झौताअनुसार ३० मंसिर ०७१ सम्म निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर, पटक–पटक म्याद थप हुँदै अन्तिमपटक भएको सम्झौताअनुसार ३० असार ०८० तोकिएको थियो ।

पप्पु लुम्बिनी जेभीले साढे तीन वर्षमा निर्माण गर्नुपर्ने पुल अलपत्र भएपछि ०७५ सालमा पप्पु कन्सट्रक्सनले १२ मध्ये दुई स्ल्याब ढलान गरेलगत्तै आएको बाढीले मेसिनरी सामान र सिमेन्टलगायतका सामग्री बगाएको थियो । यसबाट नोक्सानी भएको भन्दै कन्स्ट्रक्सनले हात झिकेपछि लुम्बिनी कन्स्ट्रक्सनले पुलको बाँकी काम जिम्मा लिएको थियो । त्यसपछि लुम्बिनीले १० वटा स्ल्याब ढलानसहित अन्तिम चरणको काम गरिरहेका वेला पुल भासिएको थियो । भ्याटसहित कुल २४ करोड ९० लाख ९७ हजार दुई सय रुपैयाँमा ठेक्का सकारेको पप्पु लुम्बिनी जेभीले २३ करोड १९ लाख १३ हजार सात सय १४ रुपैयाँ (भ्याटसहित) भुक्तानी लिइसकेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ । 

सहजामा दुई दुर्घटना :  एक प्रहरीको मृत्यु, अर्का घाइते
हुलाकी सडकअन्तर्गत सिराहाको औरही गाउँपालिका– ४ इँटाटारस्थित सहजा खोलामा अलपत्र रहेको पुलछेउमै बनाइएको डाइभर्सन धरापमा परिणत भएको छ । गत बिहीबार राति सोही डाइभर्सनमा भएको मोटरसाइकल दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको थियो ।

ड्युटीमा जाने क्रममा भएको दुर्घटनामा जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत झापा भद्रपुर नगरपालिका– १० घर भएका प्रहरी जवान करिब २६ वर्षीय सागर हास्दाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट शनिबार बिहान त्यही ठाउँमा पूर्वतर्फबाट आउँदै गरेको स्कर्पियो दुर्घटना भएको थियो । बा१५च ३६७ नम्बरको स्कर्पियो दुर्घटना हुँदा चालक धनुषाको बटेश्वर गाउँपालिका–४ बस्ने करिब ३० वर्षका राकेश यादव घाइते भएका थिए ।

६ मंसिर ०७९ मा भएको ठेक्का सम्झौताअनुसार कुल २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको आरसिसी पुल निर्माण १६ मंसिर ०८१ मा सम्पन्न हुनुपर्ने थियो । दुई वर्षको अवधिमा पुलको दुवैतर्फको क्याब ढलानपछि अलपत्र छोडिएको छ । ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सक्ने गरी जनकपुरस्थित सुगम निर्माण सेवाले जिम्मा लिएपछि पेटी ठेकेदारको रूपमा धनुषाकै सुप्रिया निर्माण सेवालाई जिम्मा दिइएको थियो । पेटी ठेकेदार सुप्रियाका अञ्जय सिंहले आफूले गरेको कामको भुक्तानी गर्न आलटाल गरेपछि छोडेको बताए । 

सुझावित समाचार