इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता पुनः आन्दोलनमा उत्रेका छन् । ढोरपाटन नगरपालिकाका नगर प्रमुखसमेत रहेका देवकुमार नेपाली अध्यक्ष रहेको सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाएका पीडितहरू आन्दोलित भएका हुन् । इमेजपीडित संघर्ष समितिको आह्वानमा उनीहरूले आइतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरे ।
पीडितहरूले नाराबाजीसहित बागलुङ बजार परिक्रमा गरेका थिए । सहकारीपीडित बचतकर्ताको रकम फिर्ता गर, सहकारी लुटेरा मुर्दावाद, सहकारी माफिया मुर्दावाद, सहकारीको सम्पत्ति खाने माफियाहरू होसियार, घुसखोरी कर्मचारी मुर्दावादलगायत नारा लगाउँदै उनीहरूले बागलुङ बजार परिक्रमा गरेका थिए । सहकारी ठगीमा पूर्वपक्षका लागि थुनामा रहेका ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीविरुद्ध सम्पत्ति शुद्धीकरणको समेत मुद्दा थपिएको छ ।
सहकारीपीडित र व्यवस्थापनबिच बचत फिर्ता गर्ने सहमति हुनेक्रममा बिचमा सहकारी माफिया र लुटेरा प्रवेश गरी बचतकर्तालाई दुःख दिने काम भएकाले उनीहरूको भन्डाफोर गर्न आन्दोलनमा उत्रिनुपरेको इमेजपीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले बताए । ‘देवकुमार नेपालीले आफ्नो चल–अचल सम्पत्तिबाट बचतकर्ताको रकम फिर्ता गर्छु भनेका थिए,’ उनले भने, ‘त्यत्रो घरजग्गा कसै न कसैले त लिनुपर्यो भन्ने कुरा भयो । त्यही वेलामा बैंकले लिलामको सूचना निकाल्यो ।
बागलुङ नगरपालिका– ११ रायडाँडाका रामबहादुर केसी र उनकी श्रीमती गोमादेवी केसीले घरजग्गा लिने निधो गरेछन् । उनीहरूले अर्को एकजना आफन्तसँग मिलेर लिलाम सकार्ने र बचतकर्ताको पैसा आफूहरूले फिर्ता गर्ने गरी हामीहरूको समेत उपस्थितिमा देवकुमारसँग कागज गरेका थिए । बचतकर्तालाई रकम फिर्ता गर्ने वेला उनी भागेर अमेरिका पुगेका छन् । पूर्वसहमति भंग गरेर भाग्नेलाई त्यसै छाड्नेछैनौँ,’ उनले भने ।
झन्डै ७० करोडको सम्पत्ति २२ करोडमा घरजग्गा किनेर बाँकी रकम पीडितलाई फिर्ता दिने गरी सम्झौताको कागज गरे पनि अहिले रकम नदिई दुःख दिएको कार्कीको आरोप छ । ‘रामबहादुर केसी र गोमा केसीले बैंकको लिलामी सकारेपछि बाँकी सम्पत्तिको मूल्यबराबर पीडितलाई फिर्ता गर्ने कागज छ,’ उनले भने, ‘७० करोडको सम्पत्ति उनीहरूले २२–२३ करोडमा लिएका छन् । उनीहरूले रकम फिर्ता गर्ने आसमा हामीले कोरा कागजमा हस्ताक्षर गरेर मिलापत्र गर्न सुरु ग¥यौँ । अहिलेसम्म ९३ प्रतिशतले मिलापत्र गरिसक्दा रकम दिनुपर्ने मान्छे भागेर अमेरिका गयो ।’ केसी परिवारले बागलुङ बजारको हल्लनचोकमा रहेको घरजग्गा लिएका हुन् ।
बागलुङमा एक हजार ५७४ जना पीडितले उजुरी गरेकोमा एक हजार ४६९ जनाले मिलापत्र गरिसकेको, तर रकम फिर्ता नपाएको उनले बताए । भागेर अमेरिका पुगेपछि केसीले ‘मैले बैंकबाट सकारेको हो, मैले किन तिर्ने’ भन्ने गरेको र उल्टै पीडितलाई मुद्दा लगाउने काम भएको कार्कीको गुनासो छ । ‘पीडितलाई दिनुपर्ने रकम नदिएर अमेरिका भागेपछि हामीले यहाँ घर बन्द गराएका छौँ, अहिले घरको क्षतिपूर्ति चाहिन्छ भनेर मुद्दा हाल्ने काम भएको छ,’ उनले भने, ‘माफियाका कारण पीडितले दुःखमाथि झन् दुःख पाउनुपरेको छ । माफियालाई कारबाही हुनुपर्छ, पीडितले बचत फिर्ता पाउनुपर्छ ।’
सहकारीका अध्यक्ष एवं मेयर नेपालीले रामबहादुर केसीले सहमतिअनुसार काम नगरेको भन्दै सरकारी वकिल कार्यालयमा दिएको निवेदन तामेलीमा राखिएको कार्कीले बताए । ‘रामबहादुर र उनकी श्रीमतीले गरेको बदमासीबारे देवकुमार नेपालीले नै सहमतिपत्रको कपीसहित सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन्, त्यसलाई अगाडि बढाइएको छैन । सहकारी माफियाको प्रभावमा काम अगाडि नबढेको हो भने हामी अझ सशक्त आन्दोलनमा उत्रन्छौँ,’ उनले भने । माफियाले दिएको पीडाका कारण अहिलेसम्म चारजना बचतकर्ताले ज्यान गुमाउनुपरेको उनले बताए ।
सहकारीमा एक करोडभन्दा बढी बचत गरेका तनबहादुर कार्कीको हृदयाघातले मृत्यु भयो । ‘जीवनभर हुलाकी गरेका कर्णबहादुर कार्कीको यही दुःखले ज्यान गयो,’ उनले भने, ‘मीनाकुमारी रेग्मीले पैसा नपाउँदा औषधि गर्न सक्नुभएन र जितबहादुर किसानको रकम फिर्ता आउने आसैआसमा हृदयाघात भएर ज्यान गयो । माफियाहरू यसरी ज्यानमारा भएका छन् ।’