प्रेरक प्रसंग : चमेरो र लाटोकोसेरो

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण

 एउटा गाउँनजिकै घना जंगल थियो । त्यहाँ अनेक जनावर र चराचुरुंगी बस्थे । एउटा लाटोकोसेरो पनि परिवारसाथ त्यहीँ बस्थ्यो । जंगलका सबै पशुपक्षी उसको बोलीलाई अत्यन्त अशुभ मान्थे । त्यसैले, उसलाई कसैले पनि आफ्नो नजिक आउन दिँदैनथे ।

उसले बोल्नासाथ सबैले उसलाई बेस्सरी गाली गर्थे र सकभर भगाउने प्रयत्न गर्थे । ऊ नजिकको मानव बस्तीतिर पनि जान सक्दैनथ्यो । मानिसले पनि उसलाई मन पराउँदैनथे । प्रायः रातको समयमा बोल्ने लाटोकोसेरोको आवाज सुनेपछि मानिसले पनि उसलाई बेस्सरी गाली गर्थे । कतै देखिहाले भने ढुंगाले हान्नसमेत बेर लगाउँदैनथे 

 जंगलदेखि मानव बस्तीसम्मै यस्तो अपमान हुन थालेपछि लाटोकोसेरो निकै दुःखी भयो । उसलाई आफ्नो परिवार लिएर कतै टाढाको अर्कै जंगलतिर जान पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो । दिन–प्रतिदिन उसमा निराशा बढ्दै गयो । नजिकै उसको निकै मिल्ने साथी चमेरो बस्थ्यो । एक रात दुवै एकै स्थानमा भेला भए ।

लाटोकोसेरोले भन्यो– मित्र चमेरो, म त अब यहाँ बस्न नसक्ने भएँ । जता गए पनि सबैले मलाई खिल्ली उडाउँछन् । कसैले पनि मलाई नजिक जान दिँदैनन् । मानिसले त झन् मलाई देख्नै सक्दैनन् । अब म परिवार लिएर अन्तै जान्छु । तिमीहरू राम्ररी बस्नू ! 

चमेरोले सम्झाउँदै भन्यो– मित्र लाटोकोसेरो, जहाँ गए पनि परिस्थिति यस्तै हो । आफू जन्मेको स्थानमा त यो अवस्था छ भने नयाँ ठाउँमा के मात्रै नहोला ? तिमी जहाँ गए पनि तिम्रो आवाज त साथमै जानेछ । अनि, तिमीले त्यहाँ पनि अपमान नै त पाउनेछौ । त्यसैले, चिन्तित हुनुपर्ने कुनै कारण छैन । उनीहरूले तिम्रो निन्दा गर्छन् भने तिमी त्यता ध्यानै नदेऊ । आफूले सद्गुण अपनाऊ । यही त हो, सुखी जीवनको रहस्य ।

सुझावित समाचार