फुङलिङमा आँखा शिविर : दृश्य परीक्षण र मोतीविन्दुको शल्यक्रिया गर्न आउने बिरामीको भिड

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण

ताप्लेजुङको फुङलिङस्थित आँखा उपचार केन्द्रमा दृश्य परीक्षण र मोतीविन्दुको शल्यक्रिया गर्न आउने बिरामीको भिड लागेको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले आँखाको शल्यक्रिया गर्ने भएपछि बिरामीको भिड लागेको हो ।

शनिबार बिहानैदेखि दृश्य परीक्षण र मोतिबिन्दुको समस्या भएका बिरामीको वर्गीकरण गरिएको थियो । आइतबार बिहानैदेखि डा. रुइत र उनका छोरा डा. सागर रुइतले शल्यक्रिया थालेका छन्। शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या अत्यधिक भएकोले सोमबार पनि शल्यक्रिया गरिनेछ ।

आज बिहानैदेखि शल्यक्रियासँगै दृश्य परीक्षण र शल्यक्रिया गर्नुपर्ने बिरामीको वर्गीकरण गरिएको तिलगङ्गा आखा प्रतिष्ठानका बाह्य कार्यक्रम अधिकृत महेश पराजुलीले बताए । उनका अनुसार तीनदिन ओपिडी परीक्षण र दुई दिन शल्यक्रिया गरिदै छ ।

डा. रुइतसहित तिलगंगा आँखा अस्पतालबाट पुगेको उपचार टिम, सामुदायिक आँखा उपचार केन्द्र र नेत्रज्योति संघ ताप्लेजुङ शाखाको टिमले शनिबार बिहानदेखि परीक्षण थालेको थियो । शनिबार परीक्षण गर्दा ४२ जनामा मोतिबिन्दुको समस्या देखिएको थियो भने आइतबार सो भन्दा बढी बिरामीमा मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्ने अनुमान गरिएको छ । 

वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुइतले आँखाको उपचार गर्ने भएपछि टाढा टाढाबाट आउने बिरामीको भिडसमेत लागेको छ । तीनदिने आँखा शिविरमा दुई सय हाराहारीको मोतीविन्दुको शल्यक्रिया हुने अनुमान गरिएको छ । त्यस्तै, एक हजार हाराहारीको आँखा परीक्षण हुनेछ ।

सुझावित समाचार