अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको अर्थतन्त्रमा पूर्वअर्थमन्त्री एवं पूर्वगभर्नर स्व. डा. यादवप्रसाद पन्तको योगदान महत्वपूर्ण रहेको बताएका छन् । ‘डा. यादवप्रसाद पन्तको बहुआयामिक व्यक्तित्व र नेपालको अर्थतन्त्रमा उहाँको योगदान’ विषयक विचारगोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नेपालको आधुनिक अर्थतन्त्रको जग बसाली नेपालको अर्थव्यवस्थालाई अन्तर्राष्ट्रिय क्षेत्रसँग आबद्ध गर्ने सन्दर्भमा डा. पन्तको महत्वपूर्ण योगदान रहेको अर्थमन्त्री खनालको भनाइ थियो । त्यस्तै, गभर्नर प्राडा विश्वनाथ पौडेलले डा. पन्तको नेतृत्वकालमा मुलुकको अर्थव्यवस्था र वित्तीय प्रणालीमा महत्वपूर्ण संरचनागत सुधारको थालनी भएको उल्लेख गरे ।