प्रतापकोटका विद्यार्थी पहिला कथा पढ्थे, अहिले लेख्छन्

तीनदिने कथालेखन प्रशिक्षणपछि आफूले लेखेको कथा सुनाउँदै प्रतापपुर माध्यमिक विद्यालयका विद्यार्थी

आइतबार, १ मंसिर, २०८२
डिजिटल संस्करण
  • प्रशिक्षक विजयराज आचार्यले विद्यार्थीलाई तीन दिनसम्म प्रशिक्षण दिएका थिए 

तुलसीपुर उपमहानगरपालिका–३ स्थित प्रतापकोट माध्यमिक विद्यालयमा कक्षा १० मा पढ्ने छात्रा रेखा थापाले ‘कथा’ पाठ्यपुस्तकमा मात्रै पढेकी थिइन् । कथा कसरी लेखिन्छ होला ? कथामा सामाजिक विषयवस्तुलाई कसरी समेट्ने होला ? कथामार्फत के–कस्ता सन्देश दिन मिल्छ ? भन्नेबारे उनी अन्योलमा थिइन् ।

सोही विद्यालयकी सञ्जिता ठाडा मगरलाई त झन् पाठ्यक्रमबाहिर पनि कथा हुन्छन् र भन्ने लाग्थ्यो । पुस्तकमा कथा पढ्ने मात्रै गरेकी उनले यसको गहिराइबारे बुझेकै थिइनन् । तर, विद्यालयले हालै सञ्चालन गरेको तीनदिने कथा लेखन प्रशिक्षणपछि भने थापा र ठाडा मगरजस्ता धेरै छात्रछात्राले कथा बुझेका मात्रै छैनन्, आफैँ लेख्न सक्नेसमेत भएका छन् । कथाको भाव, सन्देशसमेत बुझ्न सक्ने भएका छन् । ‘पहिले कथा किताबमा पढ्थ्यौँ । अब आफैँ लेख्न सक्ने भएका छौँ,’ थापाले भनिन्, ‘कथा भनेको भोगेको, देखेको, सुनेको, समाजमा घटेको घटना र कसैले भनेको आधारमा कलात्मक रूपमा लेख्ने विषय रहेछ ।’ 

कथाले सिर्जनात्मक क्षमता विकास हुनेसमेत उनको भनाइ छ । अमर बन्न, आफ्नो मनको पीडा पोख्न, कसैलाई भन्न नसकेको कुरासमेत कथामार्फत लेख्न सकिने उनले बुझेकी छिन् । यसरी कथा लेख्न सिकेपछि विद्यार्थीले आफ्ना गाउँ समाजका विविध पक्ष उतार्न थालेका छन् । कक्षा ९ की कृष्टि गुरुङले समाजको अन्धविश्वासलाई कथामा उतारेर प्रस्तुत गरिन् भने कक्षा १० की मनीषा आलेले किसानको परिवारको अवस्थाको कथा प्रस्तुत गरिन् । यसरी विद्यार्थीले आफूले लेखेका कथा पनि सुनाएका थिए ।

कथा लेखनमार्फत विद्यार्थीको क्षमतामा विकास हुने विश्वास
विद्यार्थीलाई तीन दिनसम्म प्रशिक्षक विजयराज आचार्यले प्रशिक्षण दिएका थिए । त्यस क्रममा उनले विद्यार्थीले लेखेका कथालाई पुस्तकका रूपमा प्रकाशन गर्न सके थप हौसला बढ्ने सुझाव दिएका छन् । उनले सरकारी विद्यालयका विद्यार्थी पनि अब्बल हुन्छन्, भन्ने विद्यार्थीको सहभागिताले प्रमाणित गरेको बताए । ‘सरकारी विद्यालयका विद्यार्थी कमजोर हुन्छन् भन्ने कथन गलत हो,’ उनले भने ।

गोरखा माध्यमिक विद्यालय तुलसीपुरको सहयोगमा उक्त विद्यालयमा कथा लेखन प्रशिक्षण भएको हो । गोरखाले सोही विद्यालयसँग भगिनी सम्बन्ध गाँसेकाले पटक–पटक सहयोग गर्दै आएको ग्रुपका एकेडेमिक डाइरेक्टर दुर्गा केसीले बताए । सोहीअनुसार यसपटक सहयोग गरेको हो । यसैबिच बिहीबार आयोजित कार्यक्रममा विद्यार्थीले लेखेका कथा वाचन गरेर सुनाइएको थियो । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले कथा लेखनले विद्यार्थीको क्षमता विस्तारमा टेवा पुग्ने विश्वास व्यक्त गरे । कथा भनेको गहिरिएर लेख्ने विषय भएकाले यसले विद्यार्थीको लेखन क्षमतामा विकास गर्ने उनले बताए । 

See More On

सुझावित समाचार