लागुऔषध ब्राउन सुगरसहित दुई महिला पक्राउ

शनिबार, ३० कार्तिक, २०८२
डिजिटल संस्करण

प्रहरीले लागु औषध ब्राउन सुगरसहित दुई महिलालाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो प्रहरीले सञ्चालन गरिएको संयुक्त अपरेसनमार्फत उनीहरूलाई पक्राउ गरिएको हो।

जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित लल्का पुल नजिक पैदल यात्रा गरिरहेका दुई महिलामाथि शंका लागेपछि प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेका उनीहरूको झोलाबाट ठूलो परिमाणको खैरो धुलो पदार्थ बरामद गरिएको हो।

चेकजाँचका क्रममा पर्सा जिल्लाको पटेर्वा सुगौली गाँउपालिका–६ निवासी प्रभु मुखियाकी ३५ वर्षीया पत्नी शुसिला देवीको साथबाट ब्राउन सुगर जस्तो देखिने सात प्याकेट बरामद गरिएको थियो। ती प्याकेट कूल ४४।४०० ग्राम लागुऔषध रहेको प्रहरीको प्रारम्भिक परीक्षणबाट पुष्टि भएको छ।

शुसिला देवीसँगै रहेकी पोखरिया नगरपालिका–७ की ३० वर्षीया पुजा देवीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दुवैजनाले सोधपुछका बेला स्पष्ट जवाफ नदिएको प्रहरीले जनाएको छ।

उनीहरूलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्यूरो पर्साको संयुक्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। उनका अनुसार केही दिनदेखि वीरगन्ज–पथलैया मार्गहुँदै लागुऔषध सर्ने गतिविधिको सूचना प्राप्त भएकाले प्रहरीले निगरानी बढाएको छ । 

लल्का पुल आसपासको क्षेत्र पछिल्ला महिनाहरूमा लागुऔषध ओसारपसारका लागि संवेदनशील मानिँदै आएको र त्यहाँ प्रहरीले नियमित गस्ती तथा निगरानी बढाएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
 

सुझावित समाचार