कोशी प्रदेश सरकारले कोटेशनमार्फत गरिने सबै योजनाहरुको भौतिक निर्माणमा रोक लगाएको छ । भुकम्प र कोरानाकालमा भएजस्तो जेनजी आन्दोलन र विपद्को मौका छोपेर भ्रष्टचार र अनियमिताका काण्ड कोशी प्रदेशमा दोहोरिन नदिन भन्दै चालु वर्षका सबै योजनाहरुको भौतिक निर्माण कोटशनमार्फत गराउन नदिन भौतिक निर्माण तथा पुर्वाधार विकास कार्यालयले रोक लगाएको हो।
चालु वर्ष कोशी प्रदेशभरि विपत्को विशेष परिस्थितीमा तुरुन्तै कुनै भौतिक निमार्ण गर्नुपरेमा मन्त्रालयको स्वीकृती लिएर मात्र कोटेशनमार्फत गर्न गराउन पाइनेछ। कोशी सरकारका भौतिक निर्माण तथा पुर्वाधार विकास मन्त्री भुपेन्द्र राईले बताए। मन्त्री राईले भने ‘भूकम्पको बेला खरिदमा त्रिपालकाण्ड भयो कोराना कालमा औषधी खरिदमा ओम्नी काण्ड भयो अब जेनजी आन्दोलन र विपदको मौका छोपेर फेरि पुर्ननिर्माण र निर्माणमा अर्को भ्रष्टचार काण्ड हाम्रो प्रदेशमा नहोस भनेर हामी समयमै सतर्क भएका हौ । यसैले विशेष परिस्थितिमा स्वीकृति लिएर गर्ने बाहेक सबै कोटेसनको निर्माणमा रोक लगाएका हाैँ ।’
भौतिक मन्त्री राईका अनुसार चालु बर्ष सबै निर्माण कार्यहरु समयमै ठेक्का मार्फत हुनेछन । सबै मन्त्रालय र कार्यालयहरुले मंसिरभित्र निर्माण गर्नुपर्ने कार्यको सूचना प्रकाशित गरेर ठेक्का आव्हान गरिसक्नुपर्नेछ । त्यसपछि फागुन महिनाभित्र मन्त्रालयबाट स्वीकृति गराएर निर्माण प्रकृया सुरु गराइसक्नुपर्ने छ। मन्त्री राईले जेनजी आन्दोलनमा भएको ध्वसं र गत असोज तेस्रो साता कोशी प्रदेशमा आएको विपतले नष्ट पारेको भौतिक संरचनाहरुको पुननिर्माणका लागि सरकारले पहिलो प्राथमिकता दिने बताए ।