- सम्पत्ति शुद्धीकरण गर्ने उद्देश्यले सुनचाँदीसहितका बहुमूल्य धातुमा लगानी गर्ने जोखिमलाई कम गर्न बढाइँदै नियमनको दायरा उच्चपदस्थले गर्ने कारोबार अनिवार्य रूपमा राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने, व्यवसायीलाई काल्पनिक कारोबार गर्न पनि रोक
आन्तरिक राजस्व विभागले गत असारमा जारी गरेको ‘सम्पत्ति शुद्धीकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धमा बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायी (सूचक संस्था)लाई जारी गरेको निर्देशन, ०८२’ लाई संशोधन गर्दै सुनचाँदीलगायतको नियामकीय व्यवस्थामा थप कडाइ गरेको छ ।
दैनिक १० लाख रुपैयाँभन्दा बढीको सुनचाँदीलगायत बहुमूल्य धातुको खरिद–बिक्री गर्ने उपभोक्ता वा व्यवसायीलाई राष्ट्र बैंकमातहतको वित्तीय जानकारी इकाइले नियमन गर्ने भएको हो । यो इकाइले सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलापमा वित्तीय लगानी तथा सम्बद्ध कसुरसम्बन्धी शंकास्पद कारोबारको प्रतिवेदन र सोसम्बन्धी अन्य सूचना प्राप्त गर्ने, सोको विश्लेषण गर्नेलगायतको काम गर्छ । कुनै पनि कारोबारमा शंका लागे बैंक खाता रोकेर अनुसन्धान गर्ने र कसुर देखिए रकम जफत गरी दोषीलाई थप कारबाही सिफारिस गर्नेसम्मको अधिकार यो युनिटलाई छ ।
सुनचाँदीसहितको बहुमूल्य धातुको ‘ग्रे मार्केट’ कारोबार घटाउन, तस्करीको जोखिम कम गर्न र बैंकिङ च्यानलमार्फत पारदर्शी कारोबार बढाउन संशोधित निर्देशिकाले सहयोग पुग्ने विभागको भनाइ छ । सुनचाँदी व्यवसायीलाई कारोबारमा स्वच्छता र पारदर्शिता कायम राख्दै व्यवस्थित बनाउन निर्देशन जारी गरेको विभागले जनाएको छ ।
व्यावसायिक प्रयोजनका लागि सुन खरिद गर्दा वा ग्राहकलाई बिक्री गर्दा बैंकिङ च्यानल प्रयोग गर्न निर्देशिकाले प्रोत्साहन गरेको छ । ‘सूचक संस्था (व्यवसायी)ले कारोबार गर्दा व्यावसायिक संस्थाको नाममा रहेको बैंक वित्तीय संस्थामा रहेको खाताबाट गर्नुपर्नेछ । व्यक्तिगत खाता वा आफ्ना कर्मचारी, परिवारका सदस्य वा अन्य कुनै व्यक्तिको बैंक वित्तीय संस्थामा रहेको खाता प्रयोग गर्न पाइनेछैन,’ निर्देशनमा भनिएको छ । एक दिनमा १० लाखभन्दा बढीको खरिद–बिक्रीमा भने बैंकिङ च्यानल प्रयोगलाई बाध्यकारी बनाइएको छ ।
१० लाखभन्दा बढीको विद्युतीय माध्यममार्फत हुने भुक्तानीमा कुनै सीमा रहेमा विभागले नै राष्ट्र बंैकलाई जानकारी गराएर सहजीकरण गर्ने पनि उल्लेख छ ।
जरिवानादेखि व्यवसाय खारेजसम्मको व्यवस्था
शंकास्पद कारोबारबारे ग्राहकको विवरण नराख्ने वा व्यवसायी आफैँले शंकास्पद कारोबार गरेको भेटिए पहिलोपटकलाई सचेत गराउनेदेखि जरिवाना तोक्ने र कम्पनी खारेज गर्नेसम्मको कारबाही व्यवस्था राखिएको छ । त्यस्तै, काल्पनिक कागजातका आधारमा कारोबार गर्न नपाईने, उच्चपदस्थले सुन चाँदी खरिद गरे राष्ट्र बैंकमा अनिवार्य रुपले जानकारी गराउनु पर्ने व्यवस्था छ ।
सुन खरिद गर्ने उच्चपदस्थको विवरण राख्नुपर्ने
एक दिनमा १० लाखभन्दा बढीको सुन खरिद गर्ने उपभोक्ताको कारोबार विवरण राष्ट्र बैंकको वित्तीय जानकारी इकाइलाई गराउनुपर्ने व्यवस्था राखिएको छ । खासगरी उच्चपदस्थले सुनचाँदी र अन्य बहुमूल्य धातुमा लगानी गर्ने क्रम बढेकाले उनीहरूको विवरण अनिवार्य रूपमा राखेर मात्रै कारोबार गर्नुपर्ने व्यवस्था ल्याइएको छ । उच्चपदस्थको विवरण नराखी कारोबार गर्ने व्यवसायीलाई ५० लाखसम्म जरिवाना तिराउने र कम्पनी खारेज गर्नेसम्मको व्यवस्था राखिएको छ ।
‘कुनै ग्राहकले एकैपटक वा पटक–पटक गरी एक दिनमा १० लाख वा सोभन्दा बढी रकमको कारोबार गरेमा त्यस्तो कारोबारको विवरण वित्तीय जानकारी इकाइमा गराउनुपर्नेछ,’ निर्देशनमा भनिएको छ ।
ग्राहकको कारोबार शैलीमा शंका लागे सुनचाँदी व्यवसायीले वित्तीय जानकारी इकाइमा तोकिएको ढाँचामा फाराम भरेर जानकारीसमेत गराउनुपर्ने भएको छ । यस्तो जानकारी नगराए व्यवसायीलाई जरिवाना वा कम्पनी खारेजसम्मको कारबाही हुने व्यवस्था लागू गरिएको छ । साथै, सुनचाँदीलगायतका बहुमूल्य वस्तुको खरिद गर्ने सबै ग्राहकको जानकारी राख्नुपर्ने र राष्ट्र बैंकले खोजेका वेला उपलब्ध गराउनुपर्नेसमेत भएको छ ।
बहुमूल्य धातुअन्तर्गत पर्छन् यी वस्तु
प्राकृतिक वा प्रशोधित जुनसुकै स्वरूपको सुन, चाँदी, प्लाटिनम, इरिडियम, ओस्मियम, पालाडियम, रोडियम, रुथेनियम, डायमन्ड, सफायर, रुबी, इमेराल्ड, जेड, पर्ल, कोरन्डम, एकुमेरिन र दुई प्रतिशत वा सोभन्दा बढी सुन, चाँदी, प्लाटिनम, इरिडियम, ओस्मियम, पालाडियम, रोडियम, रुथेनियम मिश्रण भएका वा समावेश गरिएका अन्य धातु वा वस्तु वा त्यस्तो धातुबाट बनेको गहना ।