- आइतबार प्रतितोला दुई लाख ३८ हजार ६ सय रहेको सुन शुक्रबार दुई लाख ४९ हजार सात सय रुपैयाँ निर्धारण
विश्व बजारमा सुनको मागमा आएको कमीका कारण बढेको मूल्यको असर नेपाली बजारमा पनि परेको छ । सुनको मूल्य बढ्न थालेपछि भारत, चीन, जापान, सिंगापुरलगायत एसियाका ठुला बजारमा छुट अफर नै दिन थालिएको छ ।
नेपाली बजारमा यो साता सुनको भाउले नयाँ कीर्तिमान राख्नुका साथै उच्च मूल्यवृद्धिसमेत भएको छ । सातामा ११ हजार एक सय रुपैयाँ मूल्य बढेको छ । आइतबार प्रतितोला दुई लाख ३८ हजार ६ सय रहेको सुन शुक्रबार दुई लाख ४९ हजार सात सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, बिहीबार दुई लाख ५० हजार दुई सय रुपैयाँ भाउ निर्धारण भएर नयाँ उचाइ पुगेको थियो ।
यद्यपि, गत २ कात्तिकमा सुनको भाउ दुई लाख ५३ हजार दुई सय पुगेर नयाँ रेकर्ड बनेको थियो । यो साता सबैभन्दा कम भनेकै आइतबारको मूल्य हो । त्यसयता निरन्तर मूल्य बढेको हो । सोमबार दुई लाख ४१ हजार पाँच सय, मंगलबार दुई लाख ४६ हजार चार सय र बुधबार दुई लाख ४४ हजार तीन सय रुपैयाँमा सुन किनबेच भएको महासंघले जनाएको छ । त्यस्तै, चाँदीको भाउ पनि सातामा प्रतितोला ७० रुपैयाँ बढेर तीन हजार दुई सय ८५ रुपैयाँ पुगेको छ ।