साझेदारसँगको सहकार्यमा काठमाडौँ महानगरपालिकाले गएको १० दिनमा एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरेको छ । पशुकल्याणका लागि काम गर्ने संघसंस्थाहरूसँगको सहकार्यमा कात्तिक १४ (२०८२) बाट सबै वडामा बन्ध्याकरणको काम सुरु गरिएको हो । बन्ध्याकरण गरिएका कुकुरलाई रेबिजविरुद्धको खोप पनि दिने गरिएको महानगरपालिकाकी पशुचिकित्सक डा. पूजा खनालले जानकारी दिइन् ।
गएको वर्ष ६७० वटाको बन्ध्याकरण गरिएको थियो भने १६ हजार ५६९ वटालाई रेबिजविरुद्धको खोप दिइएको थियो । यस्तै, आर्थिक वर्ष ०८०/८१ मा पाँच हजार पाँच सय कुकुर र बिरालाको बन्ध्याकरण तथा १६ हजार जनावरलाई रेबिजविरुद्धको खोप दिइएको थियो । महानगरपालिकाले ०७९/८० मा सामुदायिक कुकुर–बिरालोलाई रेबिजविरुद्ध खोप दिने र बन्ध्याकरण गर्ने कार्यक्रमलाई नियमित सञ्चालन गरिरहेको छ ।
यस वर्ष गएको असोज २२ गते सामुदायिक कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउने कार्य गर्न इच्छुक संघसंस्थाबाट आवेदन आह्वान गरिएको थियो ।