संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिनिधिसभाले पारित गरेको केही समयभित्रै संघीय सरकारको खर्च विधेयकमा हस्ताक्षर गरेका छन् । योसँगै अमेरिकी इतिहासको सबैभन्दा लामो सरकारी सटडाउन अन्त्य भएको छ । सटडाउनका कारण सरकारी कर्मचारी र सरकारी अनुदानमा आश्रित लाखौँ परिवार प्रभावित भए भने हवाई यातायातमा ठुलो असर देखिएको थियो ।
आगामी वर्ष जनवरी ३० सम्म संघीय कोष विस्तार गर्ने नयाँ खर्च विधेयकलाई रिपब्लिकन विधायकको बहुमत रहेको सदनमा २२२ ले समर्थन जनाउँदा २०९ ले विपक्षमा मत दिएका थिए । माथिल्लो सदन सिनेटमा भने यसै साताको सुरुमा सात डेमोक्य्राट र एक स्वतन्त्रले समेत समर्थन दिएपछि विधेयक अनुमोदित भएको थियो । ४३ दिनको सटडाउनका लागि रिपब्लिकन र डेमोक्य्राटले एक–अर्कालाई दोष लगाउन खोजेका छन् । नयाँ खर्च विधेयकले संघीय सरकारको पहिलेको ३८ ट्रिलियन डलरको ऋणमा प्रतिवर्ष लगभग १.८ ट्रिलियन डलरको भार थप्नेछ । ट्रम्पको हस्ताक्षरले अक्टोबर १ बाट सुरु भएको ४३ दिनको सरकारी सटडाउन अन्त्य भएको छ । यस अवधिमा अमेरिकाभर अत्यावश्यक सरकारी सेवाबाहेक सबै ठप्प भएका थिए ।
संघीय कर्मचारी अब बिहीबारदेखि नै काममा फर्कनेछन् । तथापि, सरकारी काम सामान्य अवस्थामा फर्किन कति समय लाग्नेछ भन्ने कुरा स्पष्ट देखिएको छैन । सटडाउनको समयमा लगभग ६ लाख ७० हजार सरकारी कर्मचारीलाई बिदा दिइएको थियो भने त्यति नै संख्यामा क्षतिपूर्तिविना काममा खटाइएको थियो ।