२३ र २४ भदौमा जेन–जी आन्दोलनका क्रममा भएको क्षति छानबिन गर्न गठित जाँचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमणमा रोक लगाएको छ । अवकाश पाएकै दिन आयोगले उनको भ्रमण रोकेको हो ।
आयोगको बिहीबारको बैठकले उनलाई विदेश भ्रमणमा रोक लगाई अनुमतिबेगर उपत्यका छाड्नसमेत नदिने निर्णय गरेको छ । जुनसुकै वेला बयान लिनुपर्ने भएकाले यस्तो रोक लगाइएको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताए । खासगरी २३ भदौमा भएको बल प्रयोगको घटनामा उनीसँग बयान लिने आयोगको तयारी छ ।
यसअघि आयोगले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, गुप्तचर प्रमुख हुतराज थापा र काठमाडौंका सिडिओ छवि रिजाललाई विदेश भ्रमणमा रोक लगाई अनुमति लिएर मात्र उपत्यका छाड्न पाउने निर्णय गरेको थियो ।
आयोगले यसै हप्तादेखि फिल्डमा खटिएका प्रहरीको बयान लिन थालेको छ । हालसम्म १५ जनाको बयान लिइसकेको छ । आइजिपी हुँदै तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीको समेत बयान लिने तयारी भइरहेको आयोगका पदाधिकारी बताउँछन् । जेन–जी अगुवाहरूले ओली र लेखकलाई कारबाहीमा ढिलाइ भएकोमा असन्तुष्टि जनाउँदै आएका छन् ।