निर्वाचनमा सहभागी हुन दलहरूलाई सुरक्षाकै चिन्ता

एमालेले बहिष्कार गर्याे निर्वाचन आयोगले बोलाएको छलफल

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका दलहरूले शान्ति–सुरक्षाकै चिन्ता गरेका छन् । आयोगले बिहीबार राष्ट्रिय सभा तथा प्रतिनिधिसभाको निर्वाचन कार्यक्रमबारे छलफल गर्न १६ दललाई बोलाएको थियो । छलफलमा १५ दलका प्रतिनिधिले शान्ति–सुरक्षाको वातावरण, निर्वाध प्रचारप्रसारको ग्यारेन्टी, चुनाव खर्चलगायत विषय उठाएको आयोगका प्रवक्ता नारायण भट्टराईले बताए । आयोगले बोलाएको छलफलमा एमाले भने सहभागी भएन । 

‘निर्वाचनमा भरपर्दो सुरक्षा प्रबन्ध, अनुकूल वातावरण, मितव्ययी बनाउने एवं निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउनेलगायत विषयमा दलहरूबाट सुझाव प्राप्त भएका छन्,’ प्रवक्ता भट्टराईले भने । 

छलफलमा कांग्रेसकी पुष्पा भुसालले निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताइन् । ‘तर, उम्मेदवारको सुरक्षा, निर्वाध रूपले प्रचारप्रसारको सुनिश्चितता महत्त्वपूर्ण हुन्छ । निर्वाचनको विकल्प छैन,’ उनले भनिन् । 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का लीलामणि पोखरेलले आचारसंहितामा कडाइ गर्नुपर्ने बताए । ‘२१ फागुनमा निर्वाचन हुनैपर्छ । बढी खर्च गर्नेको उम्मेदवारी खारेजी गर्न सक्नुपर्छ । कम खर्चिलो हुनुप¥यो । आचारसंहितालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ,’ उनले भने । 

रास्वपाकी क्रान्तिशिखा धितालले निर्वाचनलाई मितव्ययी बनाउनुपर्ने, युवा पुस्ताको सहभागितालाई जोड दिनुपर्ने बताइन् । ‘दलले आफैँ खर्च गर्ने अनि खर्च आयोगले नियन्त्रण गरेन भन्ने भएन । आयोगले पनि कडाइ गर्नुपर्छ । नयाँ पुस्ताको माग सम्बोधन हुनुपर्छ,’ उनले भनिन् । 

राप्रपाका केदारबहादुर अधिकारीले स्वतन्त्र रूपले उम्मेदवारले गतिविधि गर्न पाउनुपर्ने बताए । ‘राप्रपा चुनावबाट पछि हट्दैन्, तर जेन–जीका माग पूरा गर्न संविधान संशोधनको उपाय खोजेर जानु उपयुक्त हुन्छ । सरकार, दल, निर्वाचन अयोगबिच एकपटक छलफल हुनुपर्छ,’ उनले भने । 

नेमकिपाका प्रेम सुवालले पार्टी एउटा, उम्मेदवार अर्काे, मतदाताले मत हाल्ने अर्कैलाई जस्तो परिपाटी रोक्नुपर्ने बताए ।

नेकपाकी दिलु पन्त, जसपा नेपालका प्रकाश अधिकारी र लोसपाका सुरेन्द्र झा, जनमतकी ममता झालगायतले निर्वाचनको विकल्प नभएको तर सुरक्षाको प्रत्याभूति हुनुपर्ने धारणा राखेका थिए । 

३३ दल दर्ताको चरणमा 
निर्वाचन आयोगका अनुसार मंगलबारसम्म ३० दल दर्ताको चरणमा छन् । यसमध्ये २४ नयाँ हुन् भने नौ पुराना हुन् । आयोगमा दर्ता भएका दलको संख्या १२६ पुगिसकेको छ । 

दर्ताका लागि निवेदन दिएका यी हुन् नयाँ दलहरू
दर्ता प्रक्रियामा रहेका दलहरूमा प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी, योगेन्द्र मण्डलको राष्ट्रिय ऊर्जाशील पार्टी, नेत्रविक्रम चन्द (विप्लव)को कम्युनिस्ट पार्टी नेपाल, कुलमान घिसिङको उज्यालो नेपाल पार्टी रहेको छ । 

यसैगरी, युवा अभियन्ता हिराप्रसाद सोती (किरण विक)को राष्ट्रिय जेन–जी पार्टी, खगेन्द्र सुनारको हाम्रो पार्टी नेपाल, पूर्वराजदूत नवराज सुवेदीको नवयुग पार्टी, अजयकुमार राईको राष्ट्रिय परिवर्तन पार्टी र गोपीलाल न्यौपानेको नेपाल लिबरल पार्टी दर्ताका लागि आयोगमा निवेदन परेको छ । 

यसैगरी, हिमालयबहादुर चन्दको नेपाल राष्ट्रिय युवा पार्टी, चन्द्रप्रकाश सुवेदीको सुन्दर नेपाल निर्माण पार्टी, सबिन सिग्देलको राष्ट्र निर्माण पार्टी, रत्नप्रसाद श्रेष्ठको नागरिक सर्वाेच्चता पार्टी नेपाल, रियाज अहमद शेषको राष्ट्रिय स्वराज पार्टी, राजकुमार कक्षपतीको नेकपा (वामपन्थी केन्द्र), सुन्दरराम बोहराको आवाज पार्टी, गणेशकुमार मण्डलको सार्वमौम नागरिक पार्टी, माधवप्रसाद खतिवडाको नागरिक बचाउ दल नेपाल, अकबर खानको राष्ट्र निर्माण दल नेपाल, रमनकुमार कर्णको जनादेश पार्टी नेपाल र प्रशान्त सिंहको पिपुल फस्र्ट पार्टीले दर्ताका लागि निवेदन दिएका छन् । बिहीबार सन्दीप उप्रेतीको राष्ट्रिय स्वाभाभिमान पार्टी नेपाल, अशोककुमार यादवको जनता लोकतान्त्रिक पार्टी नेपाल दर्ताका लागि निवेदन आयोगमा पुगेको छ । 

नयाँ दर्ता भएका दलहरू
आयोगकाअनुसार हर्क साम्पाङको श्रम संस्कृति पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सिके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी, वीरेन्द्र बस्नेतको पहलमा गठन भएको गतिशील लोकतान्त्रिक पार्टी र रेशम चौधरी संस्थापक र कबिर सोव अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी नेपाल दर्ता भएका छन् । जनस्वराज पार्टीको भने सर्वोच्च अदालतले बिहीबार दर्ता खारेजी गरेको छ ।
 

सुझावित समाचार