गृहमन्त्री अर्याल र आइजिपी कार्कीसँग जेन–जी घाइतेहरूको मन्त्रालयमा भेट

बिहिबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरेका छन्।  गृह मन्त्रालयमा गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएपछि प्रहरी प्रमुख कार्कीले गृहमन्त्री अर्याललाई कार्यकक्षमा भेट गरेका हुन् ।  

भेटमा गृहमन्त्री अर्यालले आइजिपीमा बढुवा भएपछि बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै देशमा शान्ति, सदभाव, अमनचैन र नजिकिँदै गरेको प्रतिनिधिसभाको निर्वाचनका लागि चुस्त सुरक्षा व्यवस्था कायम राख्न र प्रहरीको मनोबल उच्च रहने गरी नेतृत्वदायी काम गर्न निर्देशन गरे। 

सोही क्रममा प्रहरी प्रमुख कार्कीले सरकारबाट समयसापेक्ष रूपमा हुने आदेश र निर्देशको परिधिभित्र रही आफू र आफ्नो संगठनले सधैँ जनताको जिउधनको सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्दै आफू दत्तचित्त भई लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

यसै क्रममा गृहमन्त्री अर्याल र नवनियुक्त प्रहरी प्रमुख कार्कीले संयुक्त रूपमा गृह मन्त्रालयमा जेन–जी आन्दोलनमा घाइते भएका दुईजना र जेन–जी प्रतिनिधिसँग भेट गरेका छन्। भेटमा घाइतेहरूले प्रहरी प्रमुख र सरकारलाई घाइतेहरूको उचित उपचार प्रबन्ध र जेन–जीका न्यायोचित मागहरूको सम्बोधन गरिदिन आग्रह गरेका थिए । 

सुझावित समाचार