अकबरे खोर्सानीले उचित मूल्य नपाउँदा धनकुटाका कृषक चिन्तित बनेका छन् । व्यावसायिक रूपमा अकबरे खोर्सानीको खेती गर्दै आएका कृषक भनेजस्तो मूल्य नपाउँदा मारमा परेका हुन् । अकबरे खोर्सानीको मूल्य अहिले प्रतिकिलो एक सय रुपैयाँदेखि १८० रुपैयाँसम्म रहेको छ । गत वर्ष उक्त खोर्सानीको मूल्य प्रतिकिलो तीन सय रुपैयाँदेखि चार सय रुपैयाँसम्म रहेको थियो । त्यसैले अकबरे खोर्सानीको उचित मूल्य नपाउँदा आफूहरू मारमा परेको कृषक प्रदीप ओझाले बताए।
उनले करिब पाँच रोपनी क्षेत्रफलमा तीन हजार बोट अकबरे खोर्सानीको खेती गरेका छन् । विगतका वर्षहरूमा अकबरे खोर्सानीको बजार राम्रो थियो । व्यापारीहरू घरमा नै आएर खोर्सानी खरिद गर्ने गर्दथे । तर, यस वर्ष अकबरे खोर्सानीको उत्पादन बढेको भए पनि मूल्य नपाउँदा लगानी उठाउन नै समस्या देखिएको कृषक ओझाले बताए ।
जेठ महिनादेखि नै अकबरे खोर्सानीको बिक्री सुरु हुने भए पनि खोर्सानीको सिजन जान लाग्दा पनि अहिलेसम्म उचित मूल्य नपाएको अर्का कृषक पाख्रीवाबास नगरपालिका– ७ का भूपाल थापाले गुनासो पोखे । स्थानीय सरकारले पनि खोर्सानीको बिक्री–वितरणमा बजारीकरण गरिदिन आवश्यक रहेको कृषकहरूको भनाइ छ । तर, स्थानीय सरकारबाट कुनै सहयोग नभएको उनको गुनासो छ । करिब चार रोपनी क्षेत्रफलमा अकबरे खोर्सानी खेती गर्दै आएका थापाले प्रतिकिलो १५० मूल्यमा मात्र बिक्री गर्नुपरेको उनले गुनासो गरे। हरेक वर्ष खोर्सानीको मूल्य घट्दै आएको कृषक थापाले बताए ।
अकबरे खोर्सानी रोपेको पहिलो वर्ष सामान्य उत्पादन हुने गर्दछ भने दोस्रो वर्षदेखि पाँचौँ वर्षसम्म राम्रो उत्पादन हुने कृषकहरू बताउँछन् । धेरै कृषक अन्य खेतीलाई छोडेर अकबरे खोर्सानी खेतीतर्फ लागेका छन् । धनकुटामा करिब ८० हेक्टर क्षेत्रफलमा व्यावसायिक रूपमा अकबरे खोर्सानी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ । आर्थिक वर्ष ०८०/८१ मा ८५ हेक्टर क्षेत्रफलमा ९७३.१५ मेट्रिक टन खोर्सानी उत्पादन भएको थियो भने गत आर्थिक वर्ष ०८१/८२ मा आठ सय मेट्रिक टन मात्र खोर्सानी उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रत्न ठाडामगरले बताए ।