धनकुटाको सहिदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोबास गर्दै आएका किराँत राईहरूको पापानी चाड सुरु भएको छ। किराँती राईहरूले नयाँ बाली भित्र्याउने खुसियालीमा पापानी चाड मनाउने गर्दछन्। कात्तिक शुक्ल पूर्णिमापछि सहिदभूमि गाउँपालिका– ३ स्थित साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुन्छ । पापानी चाडमा ढोल तथा बाजागाजासहित रमाइलो गर्दै इष्टदेवताको पूजा–आराधना गर्ने गरिन्छ। पापानी चाड ६ दिनसम्म चौबिसै घण्टा एक–आपसमा खुसियाली साटासाट गर्दै मनाउने गरिएको स्थानीय नरेन्द्र कश्चित राईले बताए। पापानी चाडमा किराँत राईहरूले कुलदेवताको पूजा–आराधना गर्दै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाचगान गर्ने चलन रहेको छ।
पापानी नाच नाच्दा सबै एक–आपसमा गोलो घेरा हालेर खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्ने गरिन्छ। पापानी चाडको पहिलो दिन गाउँभरिका ढोलहरू मूल पुजारीको घरमा जम्मा पारेर पूजा गर्ने गरिन्छ । दोस्रो दिन आ–आफ्नो घरमा देवीदेउता भित्र्याएर पूजा गर्ने चलन रहेको छ । देवता भित्र्याएपछि हरेक घरमा माझ्ला अर्थात् जोखाना हेर्ने गरिन्छ । त्यस्तै इष्टदेवता फुढाहाङ (बुढाहाङ) को प्रतीकको रूपमा ङाङसुबाथिङको घर हुँदै गढी घर, पाथ्थरे, मझियाँको गढी घरमा पूजा गर्ने चलन रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।
पापानी चाड पहिले पामाआनी शब्दबाट अपभ्रंश भएर बनेको भन्ने जनविश्वास रहेको छ । राई भाषामा ‘पा’ भनेको छोरा मान्छे, ‘मा’ भनेको छोरी मान्छे हो । पामाआनी भनेको छोरा मान्छे र छोरी मान्छे गोलो घेरा भएर ढोल, झ्याम्टा बजाउँदै नाच्नु भन्ने बुझिन्छ । यसले किराँती राईहरूको आफ्नो कला, संस्कृति, वेशभूषा, रहनसहन र रीतिरिवाज पनि बोकेको छ । खोकु, छिन्ताङ, आँखिसल्ला हत्याकाण्डले चर्चित सहिदभूमि गाउँपालिकामा करिब ८० प्रतिशत राई जातिको मात्र बसोबास रहेको छ ।