अमेरिकामा ‘गभर्मेन्ट सट डाउन’को प्रभाव

बिहिबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण
  • बन्दका कारण संघीय कर्मचारी तलबबाट वञ्चित छन्, हवाई यात्रा अवरुद्ध छ र गरिब अमेरिकीले खाद्य सहायता गुमाएका छन्

अमेरिका संघीय सरकार बन्दको ४२औँ दिनमा प्रवेश गरेको छ । बन्दका कारण संघीय कर्मचारीलाई तलबबाट वञ्चित गरिएको छ । हवाई यात्रा अवरुद्ध भएका छन् । लाखौँ गरिब अमेरिकी खाद्य सहायता गुमाउन बाध्य छन् । सत्तारुढ विश्वव्यापी महाशक्तिमा ‘सट डाउन’ भएको निश्चित रूपमा यो पहिलोपटक होइन । यद्यपि, पछिल्लो सट डाउन आधुनिक अमेरिकी इतिहासमा सबैभन्दा लामो बन्दका रूपमा दर्ज भएको छ । यसपटक राजनीतिक तमासा बढी पीडादायी छ । सर्वसाधारण नागरिक मूकदर्शक बनेका छन् ।

छोटकरीमा भन्नुपर्दा राष्ट्रपति डोनाल्ड ट्रम्पले समर्थन गरेको गम्भीर स्वास्थ्य सेवा कटौतीबारे रिपब्लिकन र डेमोक्य्राटबिच बजेट असहमति भएका कारण संघीय सरकारले सट डाउन सामना गर्नुपर्यो । अवश्य पनि यी उनै ट्रम्प हुन्, जसले आर्थिक वर्ष २०२६ का लागि एक ट्रिलियन डलरभन्दा बढीको रक्षा बजेट प्रस्ताव गरेका थिए । बन्दपछि ट्रम्प प्रशासनले गरिब र भोका अमेरिकीले मूल्य चुकाउनुपर्ने चेतावनी दियो । १ नोभेम्बरमा राष्ट्रको महŒवपूर्ण पूरक पोषण सहायता कार्यक्रम (एसएनएपी) रोकियो । सन् १९६४ यता पहिलोपटक यो कार्यक्रम रोकिएको हो ।

लगभग चार करोड २० लाख अमेरिकी  खानाका लागि एसएनएपीमा निर्भर छन् । अमेरिकी कृषि विभागको आर्थिक अनुसन्धान सेवा (इआरएस) का अनुसार २०२३ मा कार्यक्रममा सहभागीमध्ये ३९ प्रतिशत बालबालिका थिए । आइतबार इआरएस वेबसाइटमा ‘बन्दका कारण यो सरकारी वेबसाइट कोष समाप्तिको समयमा अद्यावधिक हुनेछैन’ भनी अलि सानो अक्षरमा सन्देश जारी गरिएको थियो । गत साता दुई संघीय न्यायाधीशले एसएनएपी लाभमा हुने रोक्का गैरकानुनी ठहर गरेपछि ट्रम्प प्रशासन आफ्नो भोकमरी अभियान उल्टउन बाध्य भएको थियो । यद्यपि, खाद्य सहायताको पुन: सुरुवात आंशिक मात्र थियो । त्यसलाई हस्तक्षेप गर्न सर्वोच्च अदालतमा अपिल पर्यो ।

आजकल शीर्ष अमेरिकी न्यायिक निकायले बिरलै त्यस्तो असामाजिक पहलको सामना गर्छ, जसलाई उसले समर्थन गर्दैन । यस अवस्थामा पनि यसले निराश पारेन । सर्वोच्च अदालतले सरकारी बन्दका बिचमा एसएनएपी सहायता भुक्तानी पूर्ण रूपमा जुटाउन अदालतको आदेशलाई अस्थायी रूपमा रोक्न ट्रम्प प्रशासनको आपत्कालीन अपिललाई अनुमति दिएको एपीले रिपोर्ट गरेको छ, यद्यपि केही राज्यका बासिन्दाले यसअघि नै कोष प्राप्त गरिसकेका छन् । वास्तवमा, आफ्नै नागरिक भोकै नपरून् भनेर सुनिश्चित गर्न आफ्नो अधीनमा रहेका विशाल स्रोत प्रयोग गर्नुभन्दा बढी दबाबपूर्ण ‘आपत्कालीन’ अवस्थाबारे सोच्न गाह्रो छ ।

इजरायली सेनाले गाजापट्टीमा अमेरिकाको समर्थनमा प्यालेस्टिनीमाथि जबर्जस्ती मच्चाएको भोकमरीको समकालीन प्रयोगलाई हेर्दा घरेलु अमेरिकी सन्दर्भमा यस्तो शब्दावली अतिरञ्जितजस्तो लाग्न सक्छ । तर, जानाजानी मानिसलाई बाँच्न आवश्यक पर्ने आहारबाट वञ्चित गर्नु भनेको भोकमरी नै हो– चाहे त्यो नरसंहारको हतियारको रूपमा होस् वा गरिबमाथि चलिरहेको अमेरिकी युद्धको पछिल्लो पुनरावृत्तिका रूपमा होस् । ३१ अक्टोबरमा एसएनएपी फ्रिज हुनुभन्दा अघिल्लो दिन, सिएनएनले ‘म खाना खाँदा दोषी महसुस गर्छु’ : कम आय भएका परिवारले अर्बौं संघीय सहायतामा पहुँच गुमाउन तयार छन्’ शीर्षकको लेख प्रकाशन गरेको थियो, जसमा ओहायोकी एक आमालाई उद्धृत गरिएको थियो । खानेकुराको अभावमा भोकै काममा जाने गरेको उनले बताएकी थिइन् ।

संघीय बन्दका कारण आफ्नो परिवारले भोगेको पीडा वर्णन गर्दै उनले भनिन्, ‘यो अब डेमोक्य्राट या रिपब्लिकनको कुरा रहेन । यो हाम्रो जीवनको सवाल हो । ट्रम्पको लाजमर्दो विकृतिको वर्तमान पृष्ठभूमिमा डेमोक्य्राटहरू बढी विनम्रजस्ता देखिन सक्छन्, तर गरिबमाथिको युद्ध लामो समयदेखि द्विदलीय रहेको सम्झनु उपयोगी हुन्छ । उदाहरणका लागि सन् १९९० को दशकमा डेमोक्य्राटिक राष्ट्रपति बिल क्लिन्टनले अमेरिकी कल्याणकारी प्रणालीमा ‘सुधार’को निर्देशन दिएपछि अन्तत: चरम गरिबीमा बाँचिरहेका अमेरिकीको संख्यामा तीव्र वृद्धि भयो ।

दुवै पक्ष अमेरिका आफैँले जग बसालेको बहुलवादलाई कायम राख्न दृढतापूर्वक प्रतिबद्ध छन्, किनकि सबैलाई पर्याप्त खानाको अधिकारसहित समान अधिकार सिर्जना गरियो भने तपाईं अल्पसंख्यक अभिजात वर्गको अत्याचारलाई टिकाउन सक्नुहुन्न । धनी अमेरिकी आफ्नो सम्पत्तिमा कर लगाउँदा अस्तित्वगत खतराबारे पीडा व्यक्त गर्छन् । तर, अब आवश्यक पोषणबाट वञ्चित हुन लागेका करोडौँ मानिसका लागि अस्तित्वगत खतरा वास्तविक हो ।

सोमबार राति आठ सिनेट डेमोक्य्राटले रिपब्लिकनसँग मिलेर जनवरीसम्म बन्दलाई अस्थायी रूपमा अन्त्य गर्ने र सरकारलाई पुनर्जीवित गर्ने पहिलो चरणका रूपमा मतदान गरे । हाउस अफ रिप्रिजेन्टेटिभमा अर्को मतदान आवश्यक छ, त्यसपछि ट्रम्पको हस्ताक्षर । यसका लागि केही दिन लाग्न सक्छ । पारित भयो भने पनि विधेयकले सेप्टेम्बरसम्म एसएनएपीलाई विस्तार गर्नेछ, तर मौलिक रूपमा यसले समस्या समाधान गर्दैन । किनकि, भोकाहरू अलपत्र छन् र स्वास्थ्य सेवा अनिर्णीत छ ।

अलजजिराबाट 

सुझावित समाचार