कैलाली कारागारबाट फरारमध्ये लागुऔषध र करणी मुद्दाका धेरै

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनका क्रममा कैलाली कारागारबाट निस्किएका २६० कैदीबन्दी अझै फरार छन् । आन्दोलनकारी प्रवेश गरेपछि कारागारमा रहेका ६६७ मध्ये ६६५ जना कैदीबन्दी निस्किएका थिए । कारागार प्रशासनले २६० जनाबाहेक अन्य कैदीबन्दी कारागार फर्किएको जनाएको छ ।

अधिकांश कैदीबन्दी आफैँ कारागार फर्किएका हुन् भने कतिपयलाई प्रहरीले पक्राउ गरेर कारागार पुर्याएको हो । फरारमध्ये धेरैजसो लागुऔषध र जबर्जस्ती करणी मुद्दाका कैदीबन्दी रहेको कैलाली कारागार प्रमुख चिरञ्जीवी सापकोटाले बताए । कारागार प्रशासनका अनुसार लागुऔषध मुद्दाका ९३ जना तथा जबर्जस्ती करणी र जबर्जस्ती करणी उद्योग मुद्दाका ७७ जना कैदीबन्दी फरार छन् ।

कर्तव्य ज्यान, ज्यानसम्बन्धी कसुर र आत्महत्या दुरुत्साहन मुद्दाका ४७ जना कैदीबन्दी फरार रहेको कारागारको तथ्यांक छ । ज्यान मार्ने उद्योग, डाँका चोरी, हातहतियार तथा खरखजाना, ठगी, किर्तेलगायत मुद्दाका कैदीबन्दी फरार छन् ।

‘यहाँ लागुऔषध मुद्दा धेरै रहेछन् । फरारमध्ये धेरै लागुऔषध मुद्दाकै छन्,’ उनले भने । २६० कैदीबन्दी अझै फरार रहेका र फरार रहेकाको सूची प्रहरीलाई दिइएको कारागार प्रमुख सापकोटाले बताए । त्यसमध्ये १९ जना भारतीय नागरिक रहेको उनको भनाइ छ ।

हत्या, करणीजस्ता जघन्य अपराधमा संलग्न तथा मुछिएका कैदीबन्दी फरार हुँदा जिल्लामा सुरक्षा चुनौती बढेको छ । जिल्ला प्रहरी कार्यालयले भने त्यस्तो चुनौतीलाई ध्यानमा राखेर सुरक्षा सतर्कता अपनाइएको बताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले फरार कैदीबन्दी पक्राउ गर्न विशेष प्रहरी टोली परिचालन गरिएको बताए । जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा फरार कैदीबन्दी पक्राउ गर्न कार्यदलसमेत गठन गरिएको प्रशासनले जनाएको छ ।

सुझावित समाचार