कांग्रेसमा महाधिवेशनबारे पदाधिकारी र पूर्वपदाधिकारी विभाजित

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण
कांग्रेसमा महाधिवेशनबारे पदाधिकारी र पूर्वपदाधिकारी विभाजित

फाइल तस्बिर/नयाँ पत्रिका

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशनको विषयलाई लिएर पदाधिकारी र पूर्वपदाधिकारी विभाजित भएका छन् । निर्वाचनअघि महाधिवेशन हुनै नसक्ने र निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडान उनीहरूको छ । बुधबार ११ जना नेताले पक्ष–विपक्षमा विभाजित भएर धारणा राखेका छन् ।

सहमहामन्त्री महेन्द्र यादवले निर्वाचनअघि महाधिवेशन सम्भव नभएकाले आफूले महामन्त्रीले प्रस्ताव गरेभन्दा फरक मितिमा महाधिवेशन प्रस्ताव गरेको बताए । ‘निर्वाचनअघि महाधिवेशन सम्भव छैन । यदि त्यसो गरियो भने कांग्रेस कमजोर हुन्छ । त्यो सबैलाई थाहा भएकै विषय हो । पार्टीलाई कमजोर बनाउने प्रयास स्वीकार्य हुँदैन । पूर्वउपसभापति विमलेन्द्र निधिले निर्वाचनअगाडि कुनै पनि हालतमा महाधिवेशन नहुने जिकिर गरे । महाधिवेशनले निर्वाचनमा पार्टीलाई क्षति पुग्ने दाबी गर्दै निधिले विशेष वा नियमित कुनै पनि महाधिवेशन गर्ने पक्षमा लाग्न नहुनेमा जोड दिए । ‘निर्वाचनको मिति घोषणा भइसकेको छ । निर्वाचनभन्दा बाहिर पार्टी जान सक्दैन, जान हुँदैन । आजको दिनमा निर्वाचनको विकल्प छैन । नहुने कामको पछि नलागौँ, निर्वाचन सकिएपछि मात्रै महाधिवेशन गरौँ,’ निधिले भने । 

पूर्वउपसभापति विजय गच्छदारले पुसभित्रै नियमित महाधिवेशन गर्न सकिने बताए । विशेष महाधिवेशनमा भने जान नहुनेमा उनले जोड दिए । ‘हामी महाधिवेशनको विषयमा विवाद नगरौँ । एकताबद्ध भएर निर्णय गरौँ । विशेष महाधिवेशनमा जान हुन्न, बरु पुससम्म नियमित महाधिवेशन गरौँ,’ उनले भने । उनले सहमतिमै महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने बताए । 

पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीको आन्तरिक विषयमा नअल्झी निर्वाचनको तयारीमा लाग्नुपर्ने बताए । लोकतान्त्रिक प्रक्रियालाई बचाउने एक मात्रै विकल्प निर्वाचन भएको भन्दै उनले आन्तरिक विषयमा अल्झिन नहुनेमा जोड दिए । विशेष महाधिवेशनको बहसलाई थाती राख्न पनि उनले सुझाव दिए । 

नेता बलबहादुर केसीले सहमतिमा निकास निकाल्न आग्रह गरे । सर्वसम्मत निर्णय हुन नसके केन्द्रदेखि वडासम्मका सबै कमिटी विघटन गरेर जानुपर्ने उनको माग छ । नेता रमेश लेखकले महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेको कार्यतालिका मिलाएर १५औँ महाधिवेशनमा जानुपर्ने बताए । उनले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्नेसमेत माग गरे । नेता जितजंग बस्नेतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भूमिकामाथि प्रश्न उठाए । उनले महामन्त्रीद्वय असफल भएको भन्दै पदीय दायित्वबाट राजीनामा दिनुपर्ने माग गरे । ‘सभापतिमाथि भौतिक आक्रमण हुँदा र पार्टी कार्यालय जल्दासमेत महामन्त्रीहरूले पदीय दायित्व पूरा गर्न सक्नुभएन । दुई महामन्त्रीहरू असफल भइसक्नुभएको छ, पदीय दायित्वबाट बिदा लिनुपर्छ,’ उनले भने । 

सुझावित समाचार