हायात होटेलले एकतर्फी रूपमा गर्‍यो सम्पूर्ण श्रमिक कटौतीको घोषणा

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा भएको तोडफोड र आगजनीलाई देखाएर पाँचतारे होटेल हायात रिजेन्सीले सम्पूर्ण श्रमिक कटौती गर्ने भएको छ । हायातले बुधबार सूचना जारी गर्दै आगामी २२ मंसिरदेखि लागू हुने गरी होटेलका १४३ जना श्रमिक कटौती गरिएको घोषणा गरेको हो । 

आन्दोलनका क्रममा भएको तोडफोडपछि होटेललाई ठुलो आर्थिक क्षति पुगेको तथा होटेल पूर्ण रूपमा बन्द अवस्थामा रहेको भन्दै श्रमिकहरूलाई काममा लगाउन असमर्थ रहेको जनाएको छ । तर, श्रमिकहरूले भने होटेलमा भएको क्षति र मर्मतको बहाना बनाएर नियतवश श्रमिक कटौती गर्न लागेको भन्दै विरोध गरेका छन् । उनीहरूले संयुक्त टे«ड युनियन समन्वय केन्द्र (जेटियुसिसी)लाई गुहार्ने बताएका छन् । 

यसअघि व्यवस्थापनले २ कात्तिकमा सूचना जारी गर्दै श्रमिकहरूलाई होटेलपरिसरमा उपस्थित नहुन भनेको थियो । त्यस्तै, अनिश्चितकालका लागि होटेल बन्द भएको सूचनासमेत जारी गरेको थियो । त्यसपछि अर्थमन्त्री रामेश्वर खनालले होटेल पुन: सञ्चलान गर्न आग्रह गर्दै त्यसका लागि सहजीकरण गरिदिने प्रतिबद्धता गरेका थिए । तर, त्यसको केही दिनमै होटेल व्यवस्थापनले श्रमिक कटौतीको घोषणा गरेको हो । 

‘होटेलको मर्मतसम्भारको कार्य प्रारम्भ भइसकेको र सोका लागि आर्थिक स्रोत जुटाई खर्च व्यवस्थापन गर्नुपर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटेलमा श्रमिकहरूलाई काममा लगाउनसमेत होटेल असमर्थ छ,’ सूचनामा उल्लेख छ । महाप्रबन्धक आशिष कुमारले जारी गरेको सूचनामा नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ, नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन, अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ र श्रम तथा रोजगार कार्यालय टेकु काठमाडौंलाई बोधार्थ गरिएको छ । 

जेटियुसिसी सदस्य तथा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का अध्यक्ष विनोद श्रेष्ठले होटेलले बहानाबाजी गरेर जबर्जस्ती मजदुरलाई निष्कासन गर्न लागेको बताए । उनले होटेलले आफ्नो निर्णय नसच्याए आन्दोलन गर्ने तथा अदालतको ढोका ढक्ढक्याउने बताए । ‘हायात होटेल व्यवस्थापनले पहिलादेखि नै मनोमानी गर्दै आएको थियो, श्रमिकलाई निकाल्ने हटाउने बहाना खोजिरहेको थियो,’ उनले भने ।

के छ कानुनी व्यवस्था ?
होटेलले श्रम ऐन, २०७४ को दफा १४५ अनुसार श्रमिक कटौती गर्ने घोषणा गरेको हो । उक्त दफाले प्रतिष्ठान सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएमा वा एकभन्दा बढी प्रतिष्ठानहरू गाभिएको कारण श्रमिक संख्या बढी भएमा वा अन्य कुनै कारणले प्रतिष्ठान आंशिक वा पूर्ण रूपमा बन्द गर्नुपर्ने भएमा रोजगारदाताले श्रमिकको संख्यामा कटौती गर्न सक्ने व्यवस्था गरेको छ । तर, उक्त दफाअनुसार श्रमिक कटौती गर्दा रोजगारदाताले सम्बन्धित युनियन वा श्रम सम्बन्ध समितिसँग श्रमिक कटौतीको विकल्प र कटौती गरिने श्रमिक छनौटको अधार तथा सर्तका विषयमा छलफल गर्नुपर्ने र छलफलमा सहमति भएबमोजिम श्रमिक कटौती गर्न सकिनेछ ।

जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ भन्छन्– 
जेन–जी आन्दोलनको बहाना बनाएर हायात होटेल व्यवस्थापनले एकतर्फी रूपमा श्रमिक निष्कासनको घोषणा गरेको छ, यो निन्दनीय छ । व्यवस्थापनले आफ्नो निर्णय फिर्ता लिएर वार्तामा नआए हामी मजदुरका पक्षमा आन्दोलनमा जान्छौँ, अदालतमा जान्छौँ । 

सुझावित समाचार