बेमौसमी वर्षाले बागमती प्रदेशमा १२ हजार टन धान नष्ट

पाँच करोडको राहत प्याकेजका लागि कृषिले अर्थसँग माग्यो सहमति

बिहिबार, २८ कार्तिक, २०८२
डिजिटल संस्करण
बेमौसमी वर्षाले बागमती प्रदेशमा १२ हजार टन धान नष्ट

बेमौसमी वर्षाले मकवानपुरको भीमफेदी गाउँपालिका– ९, खर्ककी किसान राधिका चिमोरियाको निहिनमै टुसाएको धान ।

असोज र कात्तिकको बेमौसमी वर्षाले बागमतीमा १२ हजार २१४.२६ टन धान नष्ट भएको छ । पाक्न लागेको धानमा क्षति पुग्दा यस वर्ष उत्पादन पनि घट्ने आकलन बागमती प्रदेश, कृषि मन्त्रालयले गरेको छ ।

मन्त्रालयका प्रवक्ता सुजन कँडेलका अनुसार १८ देखि २० असोजसम्मको अविरल वर्षा र त्यसपछिको ‘मोन्था चक्रवात’का कारण परेको वर्षा तथा डुबानले प्रदेशका १० जिल्लामा पाँच हजार ४६५.३५ हेक्टर धानखेती प्रभावित भएको छ । त्यसमध्ये १२ हजार २१४.२६ टन धान अर्थात् २२ करोड २४ लाख रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन रहेको उनले बताए । पाक्न लागेको धानमा क्षति भएकाले समग्रमा उत्पादन पनि घट्ने देखिएको कँडेलले बताए । 

बागमतीमा गत वर्ष एक लाख १५ हजार हेक्टरमा धानखेती हुँदा चार लाख ४८ हजार पाँच सय टन उत्पादन भएको मन्त्रालयको तथ्यांक छ । तर, यस वर्ष भने धान उत्पादन ४४ हजार ८५० टनले घटेर चार लाख तीन हजार ६५० टनमा सीमित हुने आकलन रहेको उनले बताए । यद्यपि, यो वर्ष धान रोपाइँ पनि एक लाख १२ हजार ४६० हेक्टरमा मात्र भएको थियो ।

‘धानखेती गर्ने जमिनको क्षेत्रफल घट्दै जानु र जमिनको उर्बरा शक्तिमा पनि ह्रास आइरहेको छ । त्यसैमा बेमौसमी वर्षा भएपछि उत्पादनसँगै उत्पादकत्व घटेको छ,’ कँडेलले भने । अघिल्लो वर्ष प्रतिहेक्टर उत्पादकत्व ३.९ टन रहेकामा यस वर्ष ३.६ टनमा सीमित रहने अनुमान गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष करिब ४४ हजार ८५० मेट्रिकटन धान कम उत्पादन हुने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।

कहाँ कति क्षति
कृषि मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति नुवाकोटमा तीन हजार १२८.५८ हेक्टरमा लगाइएको धानखेतीमा क्षति भएको छ । जसबाट पाँच हजार ८७.२१ टन धानबाली नष्ट भएको छ । यसबाट करिब एक करोड ८३ लाख रुपैयाँको नोक्सानी पुगेको छ ।

रामेछापमा १३३.१० हेक्टर धानखेती प्रभावित हुँदा ५१४.१० टन धान नष्ट भएको छ । एक करोड ६८ लाख रुपैयाँको हानी भएको छ । सिन्धुलीमा एक हजार ९८ हेक्टर क्षेत्रफलमा धानखेती नष्ट भइ तीन हजार ५८० टन धानबालीमा हानी भएको छ । सिन्धुलीमा एक करोड १७ लाख रुपैयाँको क्षति पुगेको छ ।

दोलखामा ८३२.१७ हेक्टरमा लगाइएको धानखेतीमा क्षति हुँदा दुई हजार ३२४.५१ टन नष्ट भएको छ । यसबाट ५४ लाख रुपैयाँको आर्थिक क्षति भएको छ । 
धादिङमा ७९ हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीमा २६९.५० टन धान नष्ट हुँदा ८६ लाख रुपैयाँको नोक्सानी भएको छ ।

सिन्धुपाल्चोकमा १७ हेक्टरमा लगाइएको धानखेती प्रभावित हुँदा ४२.१२ टन धान नष्ट भएको छ भने १३ लाख ८६ हजार रुपैयाँको नोक्सानी भएको छ ।

रसुवामा १५६.३० हेक्टरमा क्षति पुग्दा २५७.५२ टन, मकवानपुरमा १६ हेक्टरमा क्षति हुँदा ५१.२० टन क्षति भएको छ । रसुवामा २७ लाख र मकवानपुरमा १८ लाख १५ हजार रुपैयाँको नोक्सानी भएको छ ।  

त्यस्तै, काभ्रेमा १४.५ हेक्टरमा क्षति हुँदा १२.५ टन चितवनमा २० हेक्टर धानमा क्षति हुँदा ७५.४० टन धान नष्ट भएको मन्त्रालयले जनाएको छ । काभ्रेमा चार लाख १२ हजार र  चितवनमा २६ लाख ७३ हजार रुपैयाँको क्षति भएको मन्त्रालयले जनाएको छ ।

See More On

सुझावित समाचार