२४ भदौको आन्दोलनमा नेपालका जेलबाट भागेका कैदी पक्राउ गर्न नेपाल र भारतका अधिकारीबिच छलफल भएको छ। बुधबारदेखि नयाँ दिल्लीमा सुरु भएको नेपाल–भारत सुरक्षा समन्वय बैठकमा यस विषयमा छलफल भएको हो ।
नेपाल पक्षले ती कैदी पक्राउका लागि सहयोग गर्न भारतीय पक्षलाई आग्रह गरेको छ । नेपालको जेलमा रहेका ५३५ भारतीय कैदी फरार छन्। त्यस्तै, जेलबाट भागेका नेपाली कैदीहरूसमेत खुला सीमाको फाइदा उठाउँदै भारत भागेको हुन सक्ने भएकाले उनीहरूलाई समेत पक्राउ गर्न छलफल भएको छ।
बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी बलका आइजिपी राजु अर्यालले नेतृत्व गरेका छन्। भारतको तर्फबाट सशस्त्र सीमा बल (एसएसबी)का महानिर्देशक सञ्जय सिंघलले नेतृत्व गरेका छन्। बैठकमा सीमापार अपराध नियन्त्रणका विषयमा पनि छलफल भएको छ ।