जेन–जी आन्दोलनमा हेटौँडामा तोडफोड र आगजनी गर्ने पाँचजना पक्राउ

बुधबार, २७ कार्तिक, २०८२
डिजिटल संस्करण

जेन–जी प्रदर्शनका क्रममा हेटौँडामा भएका आगजनी र तोडफोडका घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ । जेन–जीले २४ भदौमा गरेको आन्दोलनको बहानामा आपराधिक गतिविधि, आगजनी र तोडफोडमा संलग्न भएको भन्दै मकवानपुर प्रहरीले आज पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अदालतको आदेशपछि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार आन्दोलनका क्रममा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको हेटौँडा उपमहानगरपालिका–११, नवलपुरस्थि घरमा आगजनी र तोडफोड गरेको आरोपमा ३६ वर्षका सुजन अधिकारी र ३५ वर्षका सुरेन्द्र रानामगरलाई नियन्त्रणमा लिएको छ । दुबै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।

यस्तै, सोही दिन बागमती प्रदेश सभा सचिवालयको भवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको भवनमा आगजनी तथा तोडफोड गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही बरथवा नगरपालिका–१ बस्ने २७ वर्षीया पुनम ठाकुर, सोही ठाउँका २७ वर्षीय प्रमोद महतो र हेटौँडा उपमहानगरपालिका–८ बस्ने ४३ वर्षीय सागर घताने (रोमबहादुर घताने) रहेका छन् ।

पक्राउ परेकामाथि घटनामा संलग्नता र योजनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता बोगटीले बताए। ‘तथ्य प्रमाणका आधारमा कारबाही अघि बढाइँदै छ, कसैलाई पनि उन्मुक्ति दिइनेछैन,’ उनले भने । २४ भदौको आन्दोलनका क्रममा हेटौँडामा प्रदेश सरकारका संरचना, प्रदेश सभा सचिवालय, प्रहरी कार्यालयहरू र व्यवसायीका भवनसमेतमा आगजनी र तोडफोड गरी क्षति पुगेकाे थियो। 

घटनापछि प्रहरीले एक हजारभन्दा बढी भिडियो फुटेज, प्रत्यक्षदर्शीका बयान र स्थानीयका उजुरीका आधारमा अपराधमा संलग्न व्यक्तिहरूको पहिचान गर्दै कारबाही अघि बढाइरहेको जनाएको छ। प्रहरीले हालसम्म जेन–जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र आपराधिक उपद्रवमा संलग्न ३० जनाविरुद्ध एक दर्जनभन्दा बढी जाहेरी दर्ता भएको जनाएको छ । अन्यलाई पनि क्रमशः नियन्त्रणमा लिने तयारी रहेको प्रवक्ता बोगटीले बताए।

२४ भदौमा भएको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट बागमती प्रदेश सभा सचिवालयका दुईवटै भवन, प्रदेश सरकारका विभिन्न मन्त्रालय, अन्य सरकारी कार्यालय, मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्वमुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री एकालाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा र व्यवसायी अरुणराज सुमार्गीका घरसमेत क्षतिग्रस्त भएका थिए।
 

सुझावित समाचार