नेपाल प्रहरीमा गृह मन्त्रालयका सचिवले नवनियुक्त प्रहरी महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाउने परम्परा सुधार्न आवाज उठेको छ । अवकाशमा जाने प्रहरी महानिरीक्षकबाटै नवनियुक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न लगाउँदा संगठनमा नेतृत्व हस्तान्तरण र चेन अफ कमान्ड बलियो हुने प्रहरी अधिकारीहरू बताउँछन् ।
०४८ सम्म अवकाशमा जाने आइजिपीले नै नयाँ आइजिपीलाई दर्ज्यानी चिह्न लगाउने प्रचलन थियो । त्यसपछि शेरबहादुर देउवा र वामदेव गौतम गृहमन्त्री हुँदा गृहमन्त्रीबाटै लगाइएको थियो । पछि अच्युतकृष्ण खरेल आइजिपी हुँदा फेरि अवकाशमा जाने आइजिपीबाटै लगाउने परम्परा पुनस्र्थापित गरिएको थियो । ०६२÷६३ पछि गृहसचिवबाट दर्ज्यानी चिह्न लगाउने परम्परा छ । जुन गलत भएको भन्दै अहिले सुधार गर्न पूर्वप्रहरी अधिकारीले माग गरेका छन् । बुधबारदेखि आइजिपी चन्द्रकुबेर खापुङले अवकाश पाउँदैछन् । बिहीबार नवनियुक्त आइजिपी दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाएर प्रहरी नेतृत्व सम्हाल्नेछन् । पूर्वएआइजी रवीन्द्र केसी भन्छन्, ‘करिब ९० हजार प्रहरी कर्मचारीको सर्वोच्च कमान्डरले समान श्रेणीका गैरबर्दीधारी कर्मचारीको हातबाट दज्र्यानी चिह्न लगाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ । सकल दर्जाको भावनाको सम्मान गर्नुपर्छ ।’
पूर्वप्रहरी अधिकारीहरूले सामाजिक सञ्जालमार्फत आइजिपीबाटै नयाँ आइजिपीलाई फुली लगाउने परम्परा बसाल्न दबाब दिइरहेका छन्। अहिले गैरराजनीतिक सरकार भएकाले पनि प्रहरीमा यो विषय सुधार हुने अपेक्षा प्रहरी अधिकारीले गरेका छन् ।