कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय सरकार फरक भए पनि एउटै भूगोलमा कार्यरत भएकाले तीन तहका सरकारको समन्वय तथा सहकार्यले मात्र नागरिक लाभान्वित हुने बताएका छन् । बुधबार सुर्खेतमा प्रदेश तथा स्थानीय सरकारबिच अन्तरसरकारी सम्बन्धका विषयमा आयोजित छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले दोहोरोपन, अधुरा काम र गुणस्तरहीन विकासबाट जोगिन सहकार्यको आवश्यकता रहेको बताएका हुन् ।
उनले विकास निर्माण तथा सेवामा प्रवाहमा तीनै तहका सरकारको सहकार्य र समन्वयको अभावसमेत रहेको धारणा राखे। ‘भूगोल सबैको एउटै हो, त्यसैले विकास निर्माणमा सहकार्य र समन्वय हुनुपर्छ,’ उनले भने, ‘तब मात्र जनताले प्रत्यक्ष लाभ पाउँछन्।’ मुख्यमन्त्री कँडेलले अहिलेको परिवर्तित अवस्थामा जननिर्वाचित निकाय प्रदेश र स्थानीय तहबिचको सम्बन्ध अझ सुदृढ गर्दै जानुपर्ने बताए। आन्दोलनपछि बनेको गैरदलीय सरकारले प्रदेश र स्थानीय तहलाई आफ्नो युनिट हो कि जस्तो गरी गरेको पत्राचार तथा व्यवहार गरिरहेकोमा त्यसमा अहिले केही सुधारहरू भएका छन्, तर त्यसैमा ढुक्क हुने अवस्था नभएको धारणा राखे।
राजनीतिक दलमाथि प्रश्न उठिरहेको सन्दर्भमा उनले दलको विश्वसनीयता पुनर्स्थापना गर्न जनताको समर्थनका साथ काम गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा जिल्ला समन्वय महासंघ, नगरपालिका महासंघ र गाउँपालिका महासंघ पदाधिकारी, जिल्ला समन्वयका प्रमुख र उपप्रमुख, गाउँपालिका प्रमुख, उपप्रमुख, मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव, सचिव र पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरूकाे सहभागिता रहेको छ।