मापसेभन्दा सडकमा लापसे चालकको जोखिम : १० चालकलाई जाँच गर्दा ६ जनाले लागुऔषध सेवन गरेको प्रमाणित

बुधबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

सडकमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेभन्दा लागुऔषध सेवन गरी सवारी चलाउने चालकका कारण जोखिम बढेको छ । ट्राफिक प्रहरीले गरेको जाँचमा सार्वजनिक सवारीसाधन चलाउने चालकहरूले नै लागुऔषध सेवन गर्दै आएको देखाएको छ । 

मंगलबार काठमाडौंको सुकेधारा क्षेत्रमा शंकास्पद १० चालकमा परीक्षण गर्दा ६ जनाले लागुऔषध सेवन गरेको पुष्टि भएको छ । जसमा चार पठाओ मोटरसाइकलचालक, एक बसचालक र एक बोलेरोचालक छन् । 

‘१० जनामा जाँच गर्दा ६ जनाले लागुऔषध सेवन गरेको पुष्टि हुनु डरलाग्दो हो,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसएसपी नवराज अधिकारी भन्छन्, ‘सार्वजनिक सवारीसाधन मात्र होइन, स्कुल बसका चालकले समेत लागुऔषध सेवनकर्ता भएको देखिएको छ, यसविरुद्धको कारबाहीलाई तीव्रता दिएका छौँ ।’ 

मंगलबार पक्राउ पर्ने पठाओ मोटरसाइकलचालकहरूमा   झापाको अर्जुनधारा नगरपालिका– ६ का ३९ वर्षीय शेखरनाथ घिमिरे, बाराको पचरौता नगरपालिका– ६ का  ३३ वर्षीय साजिद अन्सारी, नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार र काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– ३ का ४७ वर्षीय सुरजकुमार बजगाईं छन् । त्यस्तै, सार्वजनिक बसका चालक मकवानपुरको थाहा नगरपालिका– ४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिपचालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का छन् । उनीहरूलाई पक्राउ गरी अनुसन्धानका लागि स्थानीय प्रहरी कार्यालयमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ । लागुऔषध सेवन गरेर सार्वजनिक यातायात चलाउने चालकविरुद्ध प्रहरीले सार्वजनिक अपराधको कसुरमा मुद्दा चलाउँदै आएको छ । 

१९ कात्तिकमा उपत्यकाबाट नौ चालकलाई मादक पदार्थ तथा लागुऔषध सेवन गरेको अभियोगमा ९ चालकलाई पक्राउ गरेको थियो । जसमा दुईजना स्कुल बसका चालक थिए । 

हरेक हप्ता ट्राफिक प्रहरीले शंकास्पद लागेका चालकको लागुऔषध परीक्षण गर्दै आएको छ । यस क्रममा ठुलो संख्यामा चालकहरू लागुऔषध सेवन गर्ने भेटिएको र यसले दुर्घटनाको उच्च जोखिम देखाएको एसएसपी अधिकारीले बताए । यस्ता सवारीसाधनका मालिकलाई पनि अब कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । 

जेन–जी आन्दोलनपछि उपत्यकामा मापसे जाँच केही कम भएको थियो । पछिल्लो समय आन्दोलनअघिकै अवस्थामा जस्तै कारबाही थालिएको एसएसपी अधिकारीले बताए । ‘जेन–जी आन्दोलनपछि सडकमा नियम मिच्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘सडक अनुशासन बढाउन कारबाहीलाई तीव्रता दिएका छौँ ।’ 
 

सुझावित समाचार