हात्तीको आक्रमणपछि बाराको वन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

वन क्षेत्रमा हात्तीको आक्रमण बढेपछि डिभिजन वन कार्यालय बाराले वनको चारकिल्ला तोकेर सर्वसाधारणलाई प्रवेश गर्न रोक लगाएको छ।

कार्यालय प्रमुख डिभिजनल वन अधिकृत राजीव झाले मंगलबार एक सूचना जारी गर्दै कार्तिक २५ गते मंगलबारदेखि कार्तिक ३० गते आइतबारसम्मको लागि बारामा पर्ने पर्सा राष्ट्रिय निकुञ्जसहित राष्ट्रिय वन र सरकारद्वारा व्यवस्थित सामुदायिक, साझेदारी वन क्षेत्रमा प्रवेश गर्न रोक लगाइएको जानकारी गराएका हुन्।

सूचनामा पर्सा राष्ट्रिय निकुञ्जसहित बारा जिल्लाको वन क्षेत्रको पूर्वमा बारा र रौतहट जिल्लाको सिमाना, पश्चिममा वीरगन्ज– हेटौँडा जाने त्रिभुवन राजपथको सडकखण्ड, उत्तरमा बारा र मकवानपुर जिल्लाको सिमाना, दक्षिणमा सिमरा बडहर्वा हुँदै कोल्हबी–हिमालीबास जाने बाटोसम्मको क्षेत्रमा प्रवेश निषेध गरिएको उल्लेख छ।

अति जरुरी कामको लागि भने वन कार्यालयको सहमतिमा वन प्रवेश गर्न सकिने कार्यालयले जनाएको छ। ‘निषेधित वन क्षेत्रमा आवतजावत, चरिचरण, च्याउलगायत तरकारी र काठ–दाउरा, खर, घाँसपात, सोत्तरलगायतका वन पैदावार लिन जान तथा भोज भतेर वा पिकनिक जान पूर्ण रूपमा निषेध गरिएको छ,’ सूचनामा भनिएको छ, ‘अति नै जरुरी काममा भने डिभिजन वन कार्यलयको अनुमतिमा वन प्रवेश गर्न सकिनेछ।’

त्यसैगरी, सूचनामा वन क्षेत्रभित्रका पूर्व–पश्चिम लोकमार्ग, सहायक मार्गमा पनि गाडी नरोक्न वा पार्किङ नगर्न अनुरोध गरिएको छ। वन कार्यालयले हात्ती नियन्त्रणको प्रयास जारी रहेको जानकारी गराउँदै सूचनाको उल्लंघन गर्नेमाथि कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ। साथै, वनजंगलमा आवतजावत वा प्रवेश गर्दा कुनै किसिमको धनजनमा क्षति भएमा सोको जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने पनि स्पष्ट पारेको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको पथलैया–निजगढ सडक खण्डको जंगलमा सोमबार बिहान हात्तीको आक्रमणबाट ट्रकचालक जितपुरसिमरा उपमहानगरपालिका– १ का ४० वर्षीय राजकुमार चौधरीको मृत्यु भएपछि सर्वसाधारणको सुरक्षालाई ध्यानमा राखेर कार्यालयले वन प्रवेशमा रोक लगाएको हो।

सुझावित समाचार