अवैध रूपमा काठ ढुवानी गर्दै गरेका चालकसहित सात ट्रक नियन्त्रणमा

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

अवैध रूपमा काठ ढुवानी भइरहेको अवस्थामा प्रहरीले ताप्लेजुङबाट चालकसहित सातवटा ट्रकलाई नियन्त्रणमा लिएको छ । सिदिङ्वा गाउँपालिका–४ साब्लाखु जिरोप्वाइन्टबाट पाँचथरतर्फ जाँदै गरेका ती ट्रकहरू मंगलबार बिहान करिब ११ बजे नियन्त्रणमा लिएको हो । 

साब्लाखु प्रहरी चौकीबाट खटिएको टोलीले नियमित सवारी चेकजाँचका क्रममा ट्रकहरूको डाला खोलेर हेर्दा उत्तिस प्रजातिका गोलिया काठ लोड गरिएको फेला परेको थियो । ती ट्रकका चालकहरूले रूख कटान आदेशपत्र, ढुवानी अनुमति वा सम्बन्धित कागजात प्रस्तुत गर्न नसकेपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरी निरीक्षक रोहित शर्मा बढाईका अनुसार नियन्त्रणमा लिइएका ट्रकहरू क्रमशः को१ख ३७५७, प्र १–०१–००१ ख ४४९३, प्र १–०१–००१ ख ३९०९, मे १ ख ३३०५, ना३ख ५७०५, ना३ख २३५१ र म प्र ०३–००२ ख ४१३० नम्बरका छन् । यी सवारीका चालकहरू सन्दिप लिम्बू, मनोज श्रेष्ठ, दावा छिरिङ तामाङ, पूर्णबहादुर घिमिरे, सनम शेर्पा, बिलनारायण श्रेष्ठ र युवराज श्रेष्ठ रहेका छन् । 

अवैध काठ ढुवानीमा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय ताप्लेजुङ पठाएको प्रहरीले जनाएको छ । स्थानीयवासीले पछिल्ला केही सातादेखि उक्त क्षेत्रमा रात–दिन ट्रकहरूको असामान्य आवतजावत देखिएको भन्दै प्रहरीलाई खबर गरेका थिए । यसपछि प्रहरीको टोलीले चेकजाँच कडा पारेको हो । 
 

सुझावित समाचार