‘स्वर्णविन्दु प्राशन’ अभियानमा सहभागिता बढ्दो

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले जारी ‘स्वर्णविन्दु प्राशन’ अभियानमा सहभागिता बढ्दै गएको छ । २९ असोजबाट सुरु भएको अभियानअन्तर्गत  हरेक महिनाको पुष्य नक्षत्रका दिन अर्को मात्रा खुवाउनु पर्ने हुन्छ । सोही अनुसार २५ कात्तिकमा बुटवलस्थित लुम्बिनी आयुर्वेद चिकित्सालयमा अर्को मात्रा खुवाइएको हो । असोजको तुलनामा कात्तिकमा बालबालिकाको सहभागिता बढेको छ । 

चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज गणेशप्रसाद सापकोटाका अनुसार असोजमा ३७० जना सहभागी भएकोमा कात्तिकमा ७८५ जना सहभागी भए । बुधवार बुटवलभन्दा बाहिरबाट पनि बालबालिका ल्याइएको थियो । रुपन्देही, नवलपरासी जिल्लाका समेत बालबालिकालाई सहभागी गराइएको चिकित्सालयका वैद्य एवं योग अभियन्ता विष्णुहरी आचार्यले बताए । 

लुम्बिनी आयुर्वेद चिकित्सालयका  प्रमुख डा. कलावती विश्वकर्माले सरकारले २५ वटा जिल्लामा यो अभियान सुरु गरेसँगै लुम्बिनीका १२ वटै जिल्लामा लागु भएको बताए । अभियानअन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकालाई यो थोपा खुवाइने गरिन्छ । ‘स्वर्ण प्राशन’ कम्तीमा ३० मात्रा खुवाउँदा हुन्छ । आयुर्वेद शास्त्रअनुसार बिहानको समयमा खाली पेटमा स्वर्णविन्दु प्राशन खुवाउनु उपयुक्त हुन्छ । 

दाङको बिजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयका बालरोग विशेषज्ञ डा. अर्जुनराज शर्माले  अनुसार ‘स्वर्णविन्दु प्राशन’ केवल विभिन्न वस्तुको मिश्रण मात्र नभई यसको आफ्नै वैज्ञानिक आधार छ । स्वर्णप्राशन घ्यु, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो । यसमा प्रयोग हुने प्रशोधित स्वर्ण भष्मले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई सन्तुलन र नियमन गर्न मद्दत गर्छ ।

सुझावित समाचार