मधेश भवनअगाडि सात दलका सांसद आज पनि धर्नामा

मंगलबार, २६ कार्तिक, २०८२
डिजिटल संस्करण

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदहरूले आज पनि मधेश भवनअगाडि धर्ना दिइरहेका छन् । मुख्यमन्त्री नियुक्तिको विरोधमा सोमबारदेखि धर्नामा बसेका सांसदहरूलाई मधेश भवन प्रवेशमा रोक लगाएपछि उनीहरू मुख्य गेटनजिकको सडकमा लामबद्ध भई प्रदर्शनमा छन्।

सुरक्षाकर्मीको बाक्लो उपस्थितिका कारण भवनवरिपरि कडा सुरक्षा व्यवस्था गरिएको छ। सडकमा धर्ना बसेसँगै उक्त मार्गमा सवारी आवागमन रोकिएको छ। एमाले, राप्रपा र संघीय समाजवादीबाहेकका विपक्षी दलका सांसदहरू आन्दोलनमा सहभागी छन्। आइतबार मध्यरातमा प्रदेश प्रमुखले सरोजकुमार यादवलाई बर्दीबासको एक होटेलमा मुख्यमन्त्री नियुक्त गरी शपथ गराएपछि प्रदेशमा राजनीतिक माहाेल तातेको छ ।

सोमबार नै विपक्षी दलहरूले मुख्यमन्त्री निवासमा तोडफोडसमेत गरेका थिए। उता, नेपाली कांग्रेससहित सात दलका संसदीय दलका नेताहरूले ७४ जना प्रदेश सांसदकाे हस्ताक्षरसहित वर्तमान मधेश सरकार असंवैधानिक प्रक्रियाबाट गठन भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गराएका छन्। सो रिट सर्वोच्चले भोलि सुनवाइ गर्ने बताइएको छ ।

सुझावित समाचार