मतदाता नामावली दर्ता सहज बनाउन आयोगलाई सरकारको आग्रह

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

सरकारले निर्वाचन आयोगलाई मतदाता नामावली दर्ता प्रक्रिया सहज र छिटो बनाउन र कार्यसमयसमेत बढाउन आग्रह गरेको छ ।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ता गर्ने अन्तिम मिति नजिकिँदा देशभरका दर्ता केन्द्रमा भिड बढेपछि सरकारले दर्ता प्रक्रिया सहज बनाउन र कार्यसमय पनि बढाउन भनेको हो ।

फागुन २१ गते तोकिएको निर्वाचनका लागि हाल मतदाता नामावली दर्ता प्रक्रिया जारी छ । नामावली दर्ताका लागि कात्तिक ३० गतेसम्म समय तोकिएको छ । मतदाता नामावली दर्ताका क्रममा जनशक्ति अभाव, प्राविधिक समस्या तथा सेवाग्राहीले लामो समय कुर्नुपरेको गुनासो बढिरहेको छ ।

खासगरी प्रि-इनरोलमेन्ट फारममा मतदान केन्द्र छनोट गर्न नपाइनु, नागरिकता नम्बर प्रविष्ट गरिँदासमेत सिस्टमले नाम दर्ता अस्वीकार गर्ने समस्या देखिनु तथा जेन–जी आन्दोलनका सहिद तथा घाइते परिवारका सदस्यका व्यक्तिले नाम दर्तामा कठिनाइ भोग्नुपरेको गुनासो छ ।

प्रधानमन्त्री कार्यालयले मतदाता नामावली संकलन कार्य तोकिएको म्यादभित्र सम्पन्न गर्न नसकिने अवस्था देखिएमा कात्तिक ३० गतेसम्मको म्याद पुनरावलोकन गर्नसमेत भनेको छ ।

प्राविधिक समस्याले दर्ता कार्य प्रभावित भएपछि सरकारले देशभरका निर्वाचन कार्यालयहरूमा बढ्दो चापअनुसार कार्यसमय तथा सिफ्ट थप गर्न र आवश्यक परे अतिरिक्त कर्मचारी परिचालनका लागि सम्बन्धित निकायसँग समन्वय गर्न भनेको छ ।

सुझावित समाचार