कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले सामुदायिक विद्यालयमा गरेको दरबन्दी मिलानविरुद्धमा अदालत पुगेका प्रधानाध्यापकलाई अदालतले अन्तरिम आदेश दिएको छैन। गाउँपालिकाले चालू शैक्षिक सत्र ०८२ मा माध्यमिकस्तर विद्यालयका केही प्रधानाध्यापकको दरबन्दी मिलान गरेको थियो। ग्रामीण भेगका सामुदायिक विद्यालयको वृत्ति विकासका लागि गाउँपालिकाले प्रधानाध्यापककै सरुवा गरेर दरबन्दी मिलान गरेको थियो। गाउँपालिकाले रौलेश्वर माविका प्रधानाध्यापक कृपाराम उपाध्यायलाई गणेशमावि भुर्षा, गणेश माविका प्रधानाध्यापक जनक थापालाई सरस्वती मावि झर्नासागर र सरस्वतीका प्रधानाध्यापक विष्णुसिंह भण्डारीलाई रौलेश्वर माविमा सरुवा गरेको थियो ।
मावि तृतीय श्रेणी स्थायी प्रकृतिका शिक्षकत्रय भण्डारी, थापा र उपाध्यायसँगै अर्का मावि तृतीय राहतका शिक्षक मोहन जोशीको सरुवा गरेको थियो । प्रधानाध्यापकद्वय भण्डारी र थापाले नयाँ विद्यालयमा हाजिरी लगाइसकेका थिए। तर, रौलेश्वर माविका प्रधानाध्यापक कृपाराम उपाध्याय गाउँपालिकाले गरेको निर्णयमा असहमति जनाउँदै सरुवा रोक्का (स्टेअडर)का लागि अदालत गएका थिए । सिधै सर्वोच्च अदालत काठमाडौं पुगेका उपाध्यायको रिट निवेदनमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। उपाध्यायले १८ कात्तिक ०८२ मा सर्वोच्च अदालतमा दायर गरेको रिटमा दुईपक्षीय छलफल गराउँदै २४ कात्तिक ०८२ मा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छैन।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत, न्यायाधीश बालकृष्ण ढकालसहितका न्यायाधीशको पूर्ण इजलासबाट निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी नहुने आदेश भएको हो। निवेदक कृपाराम उपाध्यायले गाउँपालिकाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषणसम्बन्धी निवेदनमा निवेदकका तर्फका अधिवक्तात्रय मनिराम उपाध्याय, धर्मराज खनाल र हरिशरण कार्कीले बहस गरेका थिए। बेलडाँडी गाउँपालिकाको तर्फबाट गाउँपालिकाका कानुनी सल्लाहकार उद्धवराज भट्टले बहस गरेका थिए। यस्तै, रौलेश्वरका अर्का शिक्षक मोहन जोशीले समेत उच्च अदालतमा रिट दायर गरेका थिए। उनको रिटमा पनि उच्च अदालत महेन्द्रनगर इजलासले अन्तरिम आदेश दिन नमिल्ने आदेश जारी गरेको थियो।
संविधानले नै माध्यमिक तहकाे शिक्षाका हक–अधिकार पालिकालाई अधिकार प्रदान गरेकाले कानुनअनुरूप शिक्षक सरुवा गरे पनि शिक्षकद्वय जोशी र उपाध्यायले शिक्षक सरुवामा असहमति जनाएर न्यायालय पुगे पनि अहिलेलाई अन्तरिम आदेश नदिएपछि उनीहरू अब बाध्य भएर सरुवा गरेको स्थानमा जानुपर्ने देखिएको छ। बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द्र रानाले आन्तरिक दरबन्दी मिलानको उद्देश्य कुनै व्यक्तिलाई नोक्सान पुर्याउने होइन, बरु शिक्षकलाई नयाँ ठाउँमा नयाँ उत्साहका साथ काम गर्न प्रेरित गर्दै सामुदायिक विद्यालय सुधारका लागि भएको बताए।
‘सरुवाले स्वयं शिक्षक, विद्यार्थीमा पनि नयाँ ऊर्जा र शैक्षिक सुधारको वातावरण सिर्जना हुन्छ,’ उनले भने, ‘यसबाट सामुदायिक विद्यालय सुधारोन्मुख हुनेछन्।’ शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत स्रोतव्यक्तिहरूले पनि पालिकाको शिक्षा सुधार कदमलाई सुधारमुखी र व्यावहारिक पहलका रूपमा व्याख्या गरिरहेका छन्।