भारतीय मूलका अमेरिकी किन ममदानीलाई घृणा गर्छन् ?

मंगलबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण
  • न्युयोर्क सहरको मेयर निर्वाचनमा खसेको मत–विश्लेषणले भारतीय मूलका मतदाता बस्ने बस्तीमा ममदानीले खासै मत नपाएको देखाउँछ 

एक भनाइ छ, जीवनमा सबै प्रकारका दु:ख सहने बानी पार्न सकिन्छ, तर प्रतिद्वन्द्वी निरन्तर सफलताको सिँढी चढेको हेर्न भने असह्य पीडा हुन्छ । झन् प्रतिद्वन्द्वीले सबै तगारा पन्छाउँदै सफलता हासिल गरेमा पीडा झन् बढी हुन्छ । खासमा यस प्रकारको दु:ख घृणाबाट सुरु हुन्छ र घृणामै समाप्त हुन्छ । न्युयोर्क सहरको मेयर बनेपछिको विजय सभामा ‘धुम मचाले’को धुनमा नाचेका सहरका १११औँ मेयर जोहरान क्वामे ममदानीलाई घृणा गर्नेहरू भारतीय र अमेरिकी उल्लिखित एउटै असहनीय दु:खले थिचिएका छन् ।

ट्रम्प प्रशासनले भिसा नीति बदलेर अमेरिकामा बसिरहेका एनआरआईलाई समस्यामा पारेको र नयाँ आप्रवासी बन्न चाहनेलाई कठिनाइ थपेको धेरै भएको छैन । तैपनि, भारतीयहरू अझै ट्रम्पकै बोलीमा बोली मिलाउँदै ममदानीको विरोध गर्दै छन् । हुन त भारतीय रुढिवादीमा यस्तो हिस्सा पनि छ, जो आफ्नो विभाजनकारी विचारलाई समर्थन नगर्ने अर्को भारतीयलाई ‘भारतीयपनमाथि घृणा गर्ने’ आरोप लगाउँछन् । अहिले आएर त्यो आरोप तिनैको निधारमा टाँसिएको छ । 

अति रिसले अन्धाधुन्ध बन्चरो चलाएझैँ रुढिवादी भारतीयले अहिले जातीय घृणा र भेदभावको भावना मलजल गरिरहेका छन् । यस क्रममा ममदानीविरुद्ध ती भारतीय मूलका अमेरिकी श्वेत सर्वोच्चतावादीसँग उभिन पुगेका छन् । आफ्नो धार्मिक पहिचान (मुस्लिम), समाजवादी विचारधाराप्रति कुनै दोषी भाव नदेखाएर ममदानी धेरै गैरआवासीय भारतीयका लागि असहज प्रतिनिधि बनेका छन् । अझ, प्यालेस्टाइनमाथिको दमनका लागि इजरायलको आलोचना गरेको र कुनै मुद्दामा आफ्नै सरकारको आलोचन गरेकै कारण उनलाई सरिया–समर्थक भन्ने हदसम्मको आक्रमण गरिँदै छ । 

दुई दशकअघि इस्लामिक अतिवादको सबैभन्दा क्रूर रक्तपात सामना गरेको न्युयोर्क सहरको मेयर पदमा उठेका ‘मुस्लिम’ ममदानीविरुद्ध पुरानो डरको भावना उचाल्न भरमग्दुर प्रयास गरियो । ममदानीको मुस्लिम पहिचान बारम्बार उल्लेख गरेर न्युयोर्कवासीलाई ११ सेप्टेम्बरको घटना कसले गरेको थियो, सम्झना दिलाउने प्रयास गरियो । मानौँ, यस पृथ्वीका हरेक मुस्लिम तिनको धर्मको सबैभन्दा अतिवादी तप्काले मच्चाउने हिंसामा संलग्न हुन्छन् । मानौँ, मुस्लिमले अतिवादका योजनाकार वा समर्थक हुनुबाहेक अरू कुनै पहिचानको दाबी गर्न सक्दैनन् । मानौँ, एक मुस्लिमले जीवनभर तिनका सहधर्मीले गरेका कुकर्मका लागि क्षमा माग्दै हिँड्नुपर्छ । यस्तोमा, ममदानीले मुस्लिम पहिचान लुकाउनुभन्दा गर्व गरेरै हासिल गरेको जितमा तिनले ठुला झट्का महसुस गरेका छन् । जित रोक्न नसकेपछि तिनै तप्का अहिले विभिन्न अर्थशास्त्रीको हवाला दिँदै ममदानीले आफ्ना चुनावी वाचा पूरा गर्छन् कि गर्दैनन् भन्नेमा मोडिएका छन् । जब कि, उनले विश्वकै महँगोमध्ये एक यस सहरलाई थोरै भए पनि सहज बनाउने नीति लागू गर्ने बताएका छन् ।

न्युयोर्क सहरको मेयर निर्वाचनमा खसेको मत–विश्लेषणले भारतीय मूलका मानिस बस्ने बस्तीमा ममदानीले खासै मत नपाएको देखाउँछ । ममदानीप्रति अधिकांश भारतीयको घृणाको जरा पहिचान र विचारधारामा जोडिन्छ । हिन्दु राष्ट्रवाद र जातीय विशेषाधिकारको आलोचना गर्ने ममदानीको कदमले यस विभाजनकारी सांस्कृतिक वातावरणबाट लाभ पाइरहेकालाई क्रोधित बनाउनु स्वाभाविक हो । अझ, विदेशी भूमिबाट भारतीय अन्तरविरोधका कुनै पक्षमाथि पनि टिप्प्णी गर्नुलाई विश्वासघातका रूपमा हेर्नेहरूसमेत क्रुद्ध बने । 

चुनावी अभियानको सुरुतिरै मोदीको हिन्दुवादी राजनीति र भारतमा जरा गाडेको जात–व्यवस्थाप्रति ममदानीले आलोचनात्मक टिप्पणी गरेका थिए । त्यसपछि भारतीय ह्वाट्सएप ग्रुप र अनलाइन फोरममा उनी ‘भारतविरोधी’ वा ‘हिन्दुविरोधी’का रूपमा चिनिन थाले । तर, यस्तो आरोपले ममदानीको वास्तविक अडानभन्दा आरोप लगाउनेहरूकै असुरक्षा देखाउँछ । पछिल्लो समय, समाजिक सञ्जालमा असहमति छिट्टै व्यक्तिगत आरोप र बदनामीमा परिणत हुनु आमप्रवृत्ति हो । यस्तोमा, खुला रूपमा वामपन्थी बताउने ममदानीको भाडामा बस्नेहरूको अधिकारको वकालत र प्यालेस्टाइनीप्रतिको मुखर समर्थनले उनी आमभारतीयलाई अमेरिकामा बताइने गरको ‘मोडेल (आदर्श) अल्पसंख्यक’को छविलाई चुनौती दिन्छ । ममदानीले मूलधारको अमेरिकामा आदर्श मानिने व्यापरिक केन्द्र ‘वाल स्ट्रिट’भन्दा पनि न्युयोर्कको कला र विद्रोहको केन्द्र ‘वेस्ट भिलेज’लाई प्रतिनिधित्व गर्छन् । यही कारणले अमेरिकानिवासी गैरआवासीय भारतीय (एनआरआई)हरू उनीसँग जोडिएर चिनिन त्रसित भएका हुन् । 

आजको विखण्डित अमेरिकी राजनीतिक परिदृश्यमा धार्मिक, जातीय वा वैचारिक पहिचान लुकाउन अस्वीकार गर्नु आफैँमा एक विद्रोह बन्दै छ । यस्तोमा ममदानीको विजयले उनले ओगट्ने पदलाई मात्र नभई समग्र सांस्कृतिक परिवर्तनलाई नै प्रतिनिधित्व गर्छ । न्युयोर्कका समग्र मतदाताले भयको राजनीतिलाई अस्वीकार गर्दै नैतिक अडानलाई समर्थन गर्ने इच्छाशक्ति देखाएका छन् । 

अहिले अमेरिकामा रिपब्लिकन पार्टीले गुनासोको राजनीति गर्दै छ, जसलाई सोही पार्टीका राष्ट्रपतिले नै नेतृत्व गर्दै छन् । यस परिदृश्यमा ममदानीले प्रतिनिधित्व गर्ने इमानदारी र सक्रियताको राजनीति एक महत्वपूर्ण परिवर्तन हो । सायद, यो आफैँमा एक मौन क्रान्तिको अभिव्यक्ति हो, राजनीतिमा करुणाको पुनरोदय । तर, करुणाको यस राजनीतिमा सहभागी हुने अवसर भारतीय मूलका अमेरिकीहरूले भने छुटाएका छन् । 

(गौतम लेखक र शिक्षाविद् हुन्)
एनडिटिभीबाट

 

सुझावित समाचार