निजगढ–पथलैया सडकखण्डमा हात्तीआतंक : एकजनाको मृत्यु, दर्जनौँ सवारीसाधनमा क्षति

हात्तीकाे आक्रमणबाट दुईवटा सवारीसाधन राजमार्गको छेउमा पल्टिए

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण

बाराको निजगढ–पथलैया सडकखण्डअन्तर्गत पसाहा खोलानजिक सोमबार बिहान हात्तीको आक्रमणमा परी एकजनाको ज्यान गएको छ। मृत्यु हुने व्यक्ति ट्रकचालक वा सहचालक रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। घटनास्थलमा तत्काल उद्धार कार्यका लागि प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी तथा निकुञ्जमा तैनाथ नेपाली सेनाको टोली खटिएको छ।

आइतबार रातिदेखि तथा जितपुर सिमरा उपमहानगरपालिका– १६, एघारकिलो क्षेत्रमा हात्तीको झुन्ड देखिएको थियो। प्रहरीका अनुसार राति करिब ११:४५ बजेतिर हात्तीको समूह पूर्व–पश्चिम राजमार्गमा पसाहा खोलानजिक देखिएपछि सडकमा गुडिरहेका सवारीसाधनहरू एकाएक रोकिएका थिए। सो समयमा हात्तीले सडकमा रहेका केही सवारीसाधनमा आक्रमण गरेको र यात्रुहरू डरले सवारीमै लुकिरहेका थिए।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेको कमान्डमा रहेको प्रहरी टोली तथा नेपाली सेनाका जमदार शेर बुढाको नेतृत्वमा रहेको दशजनाको सैन्य टोली घटनास्थलमा पुगेको थियो। टोलीले राति नै हात्तीलाई जंगलतर्फ फर्काउन प्रयास गरे पनि हात्ती पुनः सडकमा फर्किँदै आतंक मच्चाएको प्रहरीले जनाएको छ।

हात्तीले आक्रमण गर्दा दुईवटा सवारीसाधन राजमार्गको छेउमा पल्टिएका छन्। तीमध्ये डब्ल्युबी ७३ जी ९५८७ नम्बरको भारतीय माइक्रोबस र बा.२च ७९२८ नम्बरको पिकअप गाडी क्षतिग्रस्त भएका छन्। साथै अन्य एक दर्जनभन्दा बढी गाडीका सिसा फुटेका छन्। प्रहरीका अनुसार ती सवारीसाधनमा रहेका यात्रुहरूलाई भने सुरक्षाकर्मीले सुरक्षित स्थानमा लैजाने कार्य गरेका थिए।

राजमार्गमा हात्तीको आतंकका कारण आवागमन रातभर अवरुद्ध भएको थियो। करिब बिहान २ बजे मात्रै नेपाल प्रहरी र ट्राफिक प्रहरीको समन्वयमा सडक सञ्चालनमा ल्याइएको थियो। तर, सोमबार बिहान पुनः हात्ती देखिएपछि राजमार्ग फेरि बन्द गरिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख दीपक केसीका अनुसार अहिले पनि हात्ती आसपासका जंगलमा देखापरेका छन् र पुनः सडकतर्फ आउन सक्ने सम्भावना रहेको छ। त्यसकारण नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, ट्राफिक प्रहरी र नेपाली सेनाको संयुक्त टोलीलाई सतर्क अवस्थामा राखिएको छ।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार मानवीय क्षति भएका व्यक्तिको पहिचान हुन बाँकी रहेको र सवारीसाधनहरूमा भएको क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ । सम्बन्धित चालक तथा सवारीधनीहरूसँग सम्पर्कपछि थप जानकारी सार्वजनिक गरिने उनले जानकारी दिए । 

यस घटनाले पुनः एकपटक निजगढ–पथलैया सडकखण्डमा हात्तीजन्य जोखिम कति गम्भीर बन्दै गएको छ भन्ने संकेत दिएको स्थानीयवासीहरूको भनाइ छ। उनीहरूका अनुसार सो क्षेत्रमा वन्यजन्तु नियन्त्रणका दिगो उपाय नअपनाइएसम्म यस्ता घटनाहरू दोहोरिन सक्ने चिन्ता बढेको छ।

सुझावित समाचार