मधेशमा एमालेबाहेक सरकार गठनको गृहकार्य

सोमबार, २५ कार्तिक, २०८२
डिजिटल संस्करण
  •  नयाँ सरकार गठनका लागि आह्वान नगरेको भन्दै सात दलका नेता–कार्यकर्ताको विरोध 
  •  कांग्रेससहित सात दलले नयाँ सरकार गठन आह्वान गर्न प्रदेश प्रमुखलाई बुझाए ध्यानाकर्षणपत्र 

मधेश प्रदेशको राजनीतिमा नयाँ मोड आएको छ । प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्न ढिलाइ गरेपछि कांग्रेससहित सात दलका प्रदेश सभा सदस्यहरू आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् ।

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, लोसपा नेतासमेत रहेका कार्यवाहक मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल), माओवादी उपनेता युवराज भट्टराई, जसपाका प्रमुख सचेतक रामआशिष यादव, एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पटेल र नागरिक उन्मुक्तिकी सांसद उर्मिलादेवी सिंह प्रदेश प्रमुखसमक्ष पुगेका हुन् । सात दलले संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठनका लागि तत्काल आह्वान गर्न माग गरेका छन् । 

शनिबार मुख्यमन्त्री सोनलले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएका थिए । जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिका ५७ सांसदको समर्थनमा २९ असोजमा मुख्यमन्त्री बनेका उनले विश्वासको मत नपाउने अवस्था भएपछि शनिबार राजीनामा दिएका थिए ।नयाँ सरकार गठनको कोर्स अगाडि बढे पनि प्रदेश प्रमुख भण्डारीले सरकार गठनको आह्वान गरेकी छैनन् । उनले आइतबार दलका नेतासँग र संविधानविज्ञसँग परामर्श लिए पनि अझैसम्म नयाँ सरकार गठनका लागि आह्वान गरेकी छैनन् ।

दलका प्रतिनिधिसँगको भेटमा प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठन आह्वानका लागि दुई–तीन दिनको समय मागेकी हुन् । ‘संविधानविद् तथा कानुनविद्सँग सल्लाह मागिरहेका छौँ, त्यसैले दुई–तीन दिन मलाई समय दिनुस् । संविधानअनुसार नै नयाँ सरकार गठनको आह्वान हुन्छ,’ भेटमा सहभागी जनता समाजवादी पार्टी जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवले प्रदेश प्रमुख भण्डारीले आफूहरूलाई भनेको बताए ।

प्रदेश प्रमुखसँग किन भेट गरेको भन्ने प्रश्नमा उनले भने, ‘प्रदेश प्रमुखले संविधानको धारा १६८ (३) बमोजिम ठुलो दल एमालेका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरी प्रदेश प्रमुख काठमाडौं जाने बाहिर हल्ला चलेको थियो, त्यसैले हामीले प्रदेश प्रमुखलाई खबरदारी गर्न उहाँसँग भेटघाट गरेका छाैँ ।’

कांग्रेस प्रमुख सचेतक कुमारकान्त झाले प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) लाई बाइपास गरी ठुलो दलको हैसियतमा एमालेलाई नेतृत्व दिने तयारी भइरहेको देखिएको बताए । तर, शनिबार मुख्यमन्त्री सोनलले विश्वासको मत लिनुअघि नै राजीनामा दिएकाले उक्त धारा अझै जीवित रहेकाले १६८ (२) बमोजिम सरकार गठन हुनुपर्ने बताए । उनका अनुसार संविधानको धारा १६८ (२) अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान हुनुपर्ने माग गरिएको हो । ‘अहिले सरकार बनाउन गठबन्धनको कुरा होइन, संविधान बचाउने विषयमा हामी ६ दल एक भएर अघि आएका हौँ । आह्वान भएपछि मात्र गठबन्धनबारे छलफल हुनेछ ।’

सात दलका नेता तथा कार्यकर्ताको विरोध 
प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वानमा ढिलाइ हुँदा विभिन्न सात दलका नेता तथा कार्यकर्ताले प्रदेश प्रमुख कार्यालयअगाडि विरोध प्रदर्शन गर्दै धर्नासमेत बसेका थिए ।

एमालेबाहेकको मधेश प्रदेशमा सरकार बन्छ : कार्यवाहक मुख्यमन्त्री
कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले अब मधेश प्रदेशमा नेकपा एमालेबाहेकको सरकार बन्ने दाबी गरेका छन् । प्रदेश प्रमुखसँग भेटघाटपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मुख्यमन्त्रीले भने, ‘प्रदेश प्रमुखले हामीलाई आश्वासन दिनुभएको छ, संविधानअनुसारले उहाँले नयाँ सरकार गठनको लागि आह्वान गर्नुहुन्छ । हामीलाई विश्वास छ संविधानको धारा १६८ (२) बमोजिम नै अहिले नयाँ सरकार गठनको आह्वान हुने हो । संविधान संघीयता र लोकतन्त्रको रक्षाका लागि अहिले सबै दल मिल्नुको विकल्प छैन । त्यसैले नयाँ सरकार गठन हुँदा सबै दल मिलेर सरकार बनाउँछ भने हामीलाई विश्वास छ ।’

कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरू अगाडि बढेको बताए । ‘शान्त रहेको मधेश प्रदेशमा सत्ताकै लागि अशान्त बनाउने अवस्था नहोस् भन्नका निमित्त पनि हामी सबै मिलेर जानुपर्छ भने हाम्रो बुझाइ हो,’ उनले भने । उनले प्रदेश प्रमुखबाट नयाँ सरकार गठनको आह्वान भएपछि मात्रै सत्तासमीकरणको विषयमा छलफल हुने बताए । 

प्रदेश प्रमुखलाई सात दलको ध्यानाकर्षणपत्र 
कांग्रेससहित विभिन्न सात दलले नयाँ सरकार गठन संविधानअनुसार आह्वान गर्न प्रदेश प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएका छन् । कांग्रेस, जसपा नेपाल, लोसपा, जनमत, माओवादी, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले संयुक्त रूपमा आइतबार साँझ प्रदेश प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाएको जसपा नेपालका प्रमुख सचेतक यादवले बताए ।

‘मौखिक रूपमा हामीले प्रदेश प्रमुखलाई सचेत गराइसकेका छौँ र लिखित रूपमा पनि प्रदेश प्रमुखलाई ध्यान आकर्षणपत्र बुझाएका छौँ र हामीलाई विश्वास छ– संविधानको धारा १६८ को उपदफा (२) बमोजिम नै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुन्छ, अहिले धारा १६८ को उपदफा ३ बमोजिम नयाँ सरकार गठन हुने अवस्था बनेको छैन,’ उनले भने ।

एमालेबाहेकको मधेश प्रदेशमा सरकार बन्छ : कार्यवाहक मुख्यमन्त्री
कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलले भने, ‘संविधान, संघीयता र लोकतन्त्रको रक्षाका लागि सबै दल मिलेर सरकार बनाउँछन् भन्ने विश्वास छ । अर्को विकल्पमा एमालेबाहेक बाँकी दलहरू मिलेर सरकार बनाउन पनि सक्छौँ ।’

सुझावित समाचार