सरकारबाट ‘विश्वसनीय व्यवसायी’को सुविधा लिन नौ प्रतिष्ठानको आवेदन

भन्सार विभागले ‘आधिकारिक व्यावसायिक व्यक्ति (ट्रस्टेड ट्रेडर्स)सम्बन्धी कार्यविधि’मार्फत आयात–निर्यात हुने मालवस्तुको जाँचपासमा सहजीकरण गर्ने नयाँ व्यवस्था लागू गरेपछि सरकारी संस्थान र निजी कम्पनीले दिए आवेदन

सोमबार, २४ कार्तिक, २०८२
डिजिटल संस्करण

मापदण्ड तोकेर ‘विश्वसनीय व्यवसायी’ खोजिएकोमा दुई सरकारी संस्थानसहित नौ प्रतिष्ठानले इच्छा देखाएका छन् ।विभागले २४ असोजमा मागेको दरखास्तमा कार्गो र एयर क्राफ्टको व्यवसाय गर्दै आएको बुद्ध एयर, ऊन र फेल्टको कारोबार गर्दै आएका एभरेस्ट फेसन फेल्ट एन्ड निट तथा एभरेस्ट फेसन, सवारीसाधन र तिनका पार्टपुर्जा आयात गर्दै आएको सिप्रदी ट्रेडिङ, प्रशोधित खानेतेलको व्यापार गर्दै आएको श्रीकृष्ण आयल रिफाइनरी र प्लास्टिक पाइपको कारोबार गर्दै आएको पोलिमर इन्डस्ट्रिजले आवेदन दिएका छन् । त्यस्तै, छुर्पी निर्यात गर्दै आएको मनराम हिमालयन ह्यान्डिक्राफ्ट र सरकारी स्वामित्वका दुई संस्थान आयल निगम र कृषि सामग्री कम्पनीले भन्सार प्रशासनको विश्वास जितेर विनाझन्झट आयात–निर्यात व्यवसाय गर्न आवेदन दिएका छन् ।

विश्वसनिय व्यवसायीका लागि आवेदन दिएमध्ये एभरेस्ट फेसन फेल्ट एन्ड निट र एभरेस्ट फेसन तथा मनराम हिमालयन ह्यान्डिक्राफ्ट भने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट प्रदान गरिने महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मानसमेत प्राप्त गरिसकेका प्रतिष्ठान हुन् । श्रीकृष्ण आयल मुरारका समूह र सिप्रदी ट्रेडिङ सिद्धार्थ राणा स्वामित्वको व्यवसाय हुन् ।

विभागका सूचना अधिकारी किशोर बर्ताैलाले ट्रस्टेड ट्रेडर्सको मान्यता पाउन आवेदन दिएकाहरूको योग्यता पुग्ने वा नपुग्नेबारे मूल्यांकन थालिएको जानकारी दिए । उनले भने, ‘आधिकारिक व्यावसायिक व्यक्ति ट्रस्टेड ट्रेडर्ससम्बन्धी कार्यविधि, २०८२ ले तय गरेको मापदण्डअनुसार सुविधा लिन नौवटा व्यवसायले आवेदन दिएका छन् । उनीहरूले मापदण्ड पूरा गरेको वा नगरेको मूल्यांकनपछि मात्रै मान्यता दिने निर्णय हुनेछ ।’ मूल्यांकनमा पास भएकाहरूलाई छनोट गरेर प्रक्रियामा सामेल गरिने उनले जानकारी दिए । ट्रस्टेड ट्रेडर्सको मान्यता पाउने उद्योगी–व्यवसायीले भन्सार प्रशासनबाट प्रमाणपत्र पाउने र वस्तु आयात–निर्यात गर्दा हुने चेकजाँचमा कष्ट भोग्नुनपर्ने विभागको भनाइ छ । 

यसरी हुँदै छ मूल्यांकन
विभागले दरखास्त परेका विवरण जाँचबुझ आवश्यक देखेमा उद्योगपरिसर वा कारोबारस्थलको निरीक्षण गर्न र कारोबारको परीक्षण गर्न सक्ने व्यवस्था छ । जाँचबुझ गर्दा आधिकारिक व्यावसायिक व्यक्ति ट्रस्टेड ट्रेडर्सका रूपमा मान्यता प्रदान गर्न मनासिब देखिएका व्यक्तिको प्रारम्भिक सूची तयार गरी दाबी विरोधका लागि सातदिने सूचना प्रकाशन गर्नेछ । दाबी विरोधमा नपर्ने उद्योगी–व्यवसायीलाई ट्रस्टेड ट्रेडर्सको मान्यतासहितको प्रमाणपत्र विभागले दिनेछ । यस्तो प्रमाणपत्र लिने उद्योगी–व्यवसायीले कारोबारमा अनियमितता गरेको पाइएमा वा महसुल छली गरेमा खारेज गर्न सक्ने व्यवस्था कार्यविधिमा छ ।

 आवेदन दिने व्यवसायीले भन्सार प्रशासनको ट्रस्टेड ट्रेडर्स बन्नका लागि आधिकारिक व्यावसायिक व्यक्ति (ट्रस्टेड ट्रेडर्स)सम्बन्धी कार्यविधिले मापदण्ड निर्धारण गरेको छ । जसमा पहिलो सर्त भनेको विगत पाँच वर्षदेखि नियमित रूपमा निर्यात वा आयात गरेको हुनुपर्ने व्यवस्था छ । पछिल्लो तीन आर्थिक वर्षमा औसतमा निर्याततर्फ कम्तीमा ५० करोड वा आयाततर्फ कम्तीमा पाँच अर्ब मूल्यको कारोबार भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । यद्यपि, सार्वजनिक संस्थानको हकमा यो बुँदा आकर्षित नहुने मापदण्डमा उल्लेख छ । विगत तीन वर्षको अवधिमा भन्सारसम्बन्धी कानुनको परिपालना गरेको, व्यवसायको आन्तरिक नियन्त्रण प्रणालीको व्यवस्था भएको र व्यवसायको लेखा प्रणाली तथा अभिलेख व्यवस्थित रूपमा राखेको व्यवसाय मात्रै मापदण्डभित्र पर्ने सर्त छ । 

सरकारलाई तिर्नु वा बुझाउनुपर्ने भन्सार महसुल, आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत सबै किसिमका कर, दस्तुर, शुल्क, बक्यौता र बेरुजु रकम बाँकी नरहेको स्वघोषणा तथा कर चुक्ता प्रमाणपत्र पनि चाहिने उल्लेख छ । सम्बन्धित व्यक्ति तथा हिताधिकारीले फौजदारी कसुरमा सजाय पाएको भए सजाय भुक्तान भएको पाँच वर्ष व्यतीत भएको स्वघोषणा पनि चाहिनेछ । पहिले दिइएको आधिकारिक व्यावसायिक व्यक्ति ट्रस्टेड ट्रेडर्सको मान्यता खारेज भएको मितिले दुई वर्ष पूरा भएकालाई मात्रै यसमा पुनः आवेदन दिन पाइने उल्लेख छ । 

किशोर बर्तौला, सूचना अधिकारी, भन्सार विभाग
आधिकारिक व्यावसायिक व्यक्ति ट्रस्टेड ट्रेडर्ससम्बन्धी कार्यविधि, २०८२ ले तय गरेको मापदण्डअनुसार सुविधा लिन नौवटा व्यवसायले आवेदन दिएका छन् । उनीहरूले मापदण्ड पूरा गरेको वा नगरेको मूल्यांकनपछि मात्रै मान्यता दिने निर्णय हुनेछ । ट्रस्टेड ट्रेडर्सको मान्यता पाउने उद्योगी–व्यवसायीले भन्सार प्रशासनबाट प्रमाणपत्र पाउने र वस्तु आयात–निर्यात गर्दा हुने चेकजाँचमा कष्ट भोग्नुपर्ने छैन ।

ट्रस्टेड ट्रेडर्सले पाउने ६ सुविधा 

  • निर्यात गर्ने वस्तुको जाँच 
  • उत्पादन स्थल, गोदामपरिसर वा विभागले तोकेको अन्य स्थानमा गर्न पाउने
  • निर्यात प्रयोजनका लागि 
  • आयात गर्ने कच्चा पदार्थको भौतिक निरीक्षण कार्यलाई कम गर्दै लैजाने 
  • भन्सार क्षेत्रमा खोल्न गाह्रो हुने 
  • भारी मेसिनरी, यन्त्र वा उपकरणलगायतको निरीक्षण उद्योगीको गोदामै लगेर गर्ने
  • कागजातसमेत जाँच नगरी व्यवसायीको घोषणाकै आधारमा भन्सार पास गराउने
  • कार्यालय समय अघि–पछि वा सार्वजनिक बिदाको दिनमा समेत जाँचपास गर्ने मिल्ने 
  • द्रुत जाँचपासका लागि भन्सारपरिसरमा डेडिकेटेड क्षेत्रको सुविधा पाउने

सुझावित समाचार