जेन–जी आन्दोलनमा लुटपाट, चोरी, तोडफोड गर्ने चारजना पक्राउ

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण
जेन–जी आन्दोलनमा लुटपाट, चोरी, तोडफोड गर्ने चारजना पक्राउ

पक्राउ परेकाहरुबाट प्रहरीले बरामद गरेकाे सामान ।

जेन–जी आन्दोलनका क्रममा लुटपाट, चोरी, तोडफोड तथा आगजनी गरेको आरोपमा कास्की प्रहरीले चारजनालाई पक्राउ गरेको छ । आन्दोलनको बहानामा लुटपाट, तोडफोड तथा आगजनी गर्ने दुई र प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गर्ने दुई गरी चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।

बस्नेतका अनुसार २४ भदौमा जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, व्यक्तिगत घर पसलमा समेत आगजनी, तोडफोड, लुटपाटसँगै चोरी गर्ने व्यक्तिहरूको पहिचान, खोजी तथा अनुसन्धानको क्रममा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले पक्राउ गरेकोमा गोरखा स्थायी घर भई कास्की पोखरा महानगरपालिका–५ बस्ने दीपक कुँवर र धादिङ स्थायी घर भई कास्की पोखरा–५ बस्ने दीपक रानामगर रहेका छन् । उनीहरूको घरकोठा खानतलासिका क्रममा चोरी गरिएका मल्टिप्लग, विभिन्न व्यक्तिको नाममा रहेको सवारीचालक अनुमति-पत्र, २२० सिसीको मोटरसाइकल, कम्प्युटरको सिपियू, मनिटरलगायत सामान बरामद गरेको थियो।

यसैगरी, प्रहरी कार्यालयबाट मोटरसाइकल चोरी गरेको आरोपमा कास्की पोखरा महानगरपालिका–५ बाट सोही स्थानका विश्वराज परियार र पोखरा–१३ शान्तिटोल बस्ने देवकुमार लोदियालाई पक्राउ गरेको बस्नेतले जानकारी दिए।

उनीहरूले ट्राफिक प्रहरी कार्यालय कास्कीअगाडि पार्किङ गरी राखिएको प्रहरी कर्मचारीको ग६प २०६१ नम्बरको होन्डा मोटरसाइकल चोरी गरी लगेका थिए । चोरी गरेको मोटरसाइकल चलाइरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। 
 

सुझावित समाचार