मोरङ रंगेलीको सीमावर्ती क्षेत्रमा देखापर्‍याे मांसाहारी जनावर हुँडारको बथान, स्थानीयलाई सतर्क रहन पालिका र वन कार्यालयको आग्रह

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

रङ रंगेलीको सीमावर्ती क्षेत्रमा अफ्रिका तथा एसियाका केही भूभागमा मात्र पाइने लोपोन्मुख मांसाहारी जनावर हुँडार (हाइना)को बथान देखापरेको छ । 

नेपालमा लोपोन्मुख मानिएको हुँडारको बथान रंगेली नगरपालिकाको ४ नम्बर वडा स्थित नेपाल–भारत सीमावर्ती धनपति क्षेत्रमा एक हप्तादेखि देखापरिरहेको हो ।  

मांसाहारी जनावार हुँडारको बथान देखिएपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ । रंगेली धनपति क्षेत्रका  बाँसघारी र खेतमा हुँडारको बथान नै देखिएपछि स्थानीय डराउन थालेका छन् ।  

सुरुमा फाट्टफुट्ट एउटा–दुईवटा मात्र देखिए पनि शनिबार राति हाइनाको बथान नै देखिएको रंगेली नगरपालिका– ५ का वडाध्यक्ष महानन्द मण्डलले बताए । अध्यक्ष मण्डलका अनुसार उक्त क्षेत्रमा  भारततर्फ हुँडार  देखिएको हल्ला चल्ने गरे पनि  नेपालतर्फ भने पहिलोपटक देखापरेको हो ।  

हुँडारको शारीरिक बनावट, व्यवहार तथा सामाजिक संरचनाबारे स्पष्ट जानकारी दिएको छ। मांसाहारी दुर्लभ  परिवारमा पर्ने यो जनावर सामान्यतया कुकुरजस्तै देखिए पनि वैज्ञानिक दृष्टिले छुट्टै वर्गमा पर्दछ ।

अध्ययनका अनुसार हुँडारहरू अफ्रिका र एसियाका केही भू–भागमा बढी पाइन्छन्। बलियो जबडा, हाँसोजस्तै सुनिने आवाज र अनुशासित समूहमा बस्ने स्वभाव यसको प्रमुख पहिचान मानिन्छ। विशेष गरी हुँडारलाई खुला स्थानमा मातृसत्तात्मक समूहमा बस्ने जनावरका रूपमा चिनिन्छ ।

विशेषज्ञहरूले हुँडारलाई प्रायः मृत जनावर खोजेर खाने जनावरका रूपमा बुझाए पनि त्यसमा मात्र सीमित नरहेको बताएका छन्। उनीहरू अत्यन्तै सक्षम सिकारीसमेत भएको अध्ययनमा उल्लेख छ। अगाडिको खुट्टा लामो र पछाडिको छोटो भएकाले हुँडारको शरीर अघितिर झुकेसरि देखिन्छ।

शक्तिशाली जबडाका कारण हड्डीसम्म चुँडेर खाने क्षमताको संसारमै उदाहरणीय जनावरको रूपमा हुँडारलाई वैज्ञानिकहरूले वर्णन गरेका छन्। साथै, समूहभित्र सूचना आदान–प्रदानका लागि निकालिने विशिष्ट आवाज यसको अर्को आकर्षक विशेषता मानिन्छ । झट्ट हेर्दा कुकुरजस्तो देखिने, अगाडिको खुट्टा लामो र पछाडिको छोटो हुने यो जनावर मांसाहारी र चलाख मानिन्छ । यिनीहरू समूहमा सिकार गर्ने गर्दछन् ।

खरायो, स्याल, बाख्रा, हरिण, अर्ना, बँदेल आदि खान रुचाउने हुँडारले विशेष अवस्थामा मान्छेमाथि समेत आक्रमण गरेर खाने गर्दछ  । 

कोशी टप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत भूपेन्द्र यादवले  नेपालको पूर्वी क्षेत्रमा हाइना देखिनु एक दुर्लभ घटना भएको र  मोरङमा  कसरी आइपुग्यो भन्नेबारे अध्ययन आवश्यक भएको बताए । उनका अनुसार सन् २०११ मा गरिएको एक अध्ययनले नेपालका २५ जिल्लामा हाइना पाइने देखाएको थियो । तर, त्यसयता कुनै ठोस अध्ययन हुन सकेको छैन । सोही अध्ययनअनुसार नेपालमा हाइनाको संख्या करिब एक सयको हाराहारीमा रहेको अनुमान छ । पहिले देखिने गरेपनि सन् २००५ पछि पूर्वी क्षेत्रमा हुँडार देखिएको थिएन ।  

नेपाल सरकारले हाइनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । स्थानीय प्रशासन र डिभिजन वन कार्यालय मोरङले नेपालको सीमावर्ती क्षेत्रमा हुँडार देखारेपछि स्थानीयलाई सतर्क रहन र नजिक नजान अनि पशुचौपायाहरू सुरक्षित रूपले गोठमा राख्न भनेको छ ।  

सुझावित समाचार