कोशी सरकारको खोरेतमुक्त अभियान : विराटनगरमा गाई–भैँसीलाई निःशुल्क खोप लगाउन सुरु

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

विराटनगर महानगपालिकाले  पशु चौपायामा माहामारीको रुपमा फैलने खोरेत रोगमुक्त्त बनाउन खोप अभियान थालेको छ । 
विराटनगरलाई खोरेत रोगमुक्त पालिका बनाउने लक्ष्यसहित विराटनगर महानगरपालिकाले आइतबारदेखी गाई र भैंसीमा निःशुल्क खोप अभियान थालेको हो ।  

विराटनगर महानगरपालिकाको आयोजना तथा कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटेरेनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मोरङको सहयोगमा खोरेतमुक्त खोप अभियान सुरु गरिएको हो ।  

कोशी प्रदेश सरकारको लक्ष्यअनुरूप विराटनगर– १२ स्थित बञ्जरा एग्रो फार्ममा औपचारिक समारोह आयोजना गरेर विराटनगर महानगरमा पनि प्रदेश खारेतमुक्त अभियानको शुभारम्भ गरिएको हो । 

विराटनगर महानगरपालिका– १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा गाईलाई खोप लगाएर ‘खोरेत रोगमुक्त कोशी प्रदेश अभियान’ औपचारिक रूपमा प्रारम्भ गरिएको हो ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मोरङका अनुसार विराटनगर महानगरपालिकाभित्र हाल २१ हजार ६ सय गाई र भैँसी छन् । भेटेरेनरी प्रमुख डा. अजयकुमार  साहले पहिलो चरणमा १६ हजार ६ सय गाई र भैँसीलाई भ्याक्सिनेटरमार्फत खोरेतविरुद्ध निःशुल्क खोप लगाइने र तथ्यांक डिजिटल प्रणालीबाट अभिलेखीकरण गरिने  जानकारी दिए । डा.  साहका अनुसार खोरेतमुक्त अभियानअन्तर्गत मोरङ जिल्लामा  तीन लाख ८० हजार डोज खोप वितरण गरिने लक्ष्य रहेको छ । त्यस्तै बंगुरका लागि ५६ हजार डोज खोप लगाइनेछ ।  

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, कोशी प्रदेशका निर्देशक डा. सुशीलकुमार अधिकारीले प्रदेशका सबै १३७ वटै पालिकामा यो अभियान सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार इलाम जिल्लालाई पहिले नै खोरेतमुक्त घोषणा गरिएको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरलाई पनि खोरेत रोगमुक्त जिल्ला बनाउन आवश्यक तयारी र अभियान अघि बढिसकेको छ ।

‘कोशी प्रदेशलाई निकट भविष्यमा पूर्ण रूपमा खोरेत रोगमुक्त बनाउने हाम्रो लक्ष्य हो,’ डा. अधिकारीले भने, ‘यस अभियानले पशु स्वास्थ्यमा सुधार ल्याउने मात्र होइन, कृषकको आर्थिक सुरक्षा पनि बलियो बनाउनेछ ।’
कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयकी पशुपन्छी विकास महाशाखाकी प्रमुख डा. दीपा दिवालीले खोप अभियानले प्रदेशलाई खोरेत रोगमुक्त बनाउन सहयोग पुग्ने दाबी गरिन् । 

औपचारिक कार्यक्रममा बोल्दै महानगरको आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले खोप अभियानले चौपायाको मृत्युदर घटाउने र किसानको आयमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । वडा नम्बर १२ का कार्यवाहक अध्यक्ष कुशेश्वर राजवंशीले खोरेत रोगका कारण हरेक वर्ष किसानले ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै यस अभियानले त्यो समस्या कम गर्ने बताए ।

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख हीरा यादवका अनुसार विराटनगरका १९ वटै वडामा खोप कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ । उनले स्थानीय कृषकलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गर्दै खोप अभियान पशु स्वास्थ्य सुरक्षातर्फको महत्त्वपूर्ण कदम भएको बताए ।

कोशी प्रदेश सरकारको दीर्घकालीन लक्ष्य प्रदेशका सबै जिल्लालाई क्रमिक रूपमा खोरेतमुक्त घोषणा गर्ने रहेको छ ।

सुझावित समाचार