नेपालगन्जस्थित बाँके जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । जेन–जी प्रदर्शनपछि उत्पन्न परिस्थितिपछि जिल्ला कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राख्नुपरेको जेलर प्रकाश ढुंगानाले जानकारी दिए । ‘देशैभरका कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी भएकाले यहाँको अवस्था पनि सामान्य मान्नुपर्छ । सरकारले तोकेको रासन, पानी पाएको अवस्था छ,’ उनले भने ।
कुल तीन सय ५० कैदीबन्दी अट्ने कारागारमा सात सय ९७ कैदीबन्दी तथा थुनुवा राख्नुपरेको उनले बताए । यहाँ रहेका कैदीबन्दीमध्ये सबैभन्दा बढी लागुऔषध कारोबार, जबर्जस्ती करणी र कर्तव्यज्यान मुद्दाका रहेको उनले बताए । ‘लागुऔषध कारोबारीले यो कारागार भरिएको छ,’ उनले भने । लागुऔषधका तीन सय १६, जबर्जस्ती करणीका एक सय २९ र कर्तव्य ज्यानसम्बन्धी एक सय १८ जना कैदीबन्दी कारागारमा छन् । महिला कैदीबन्दी गृह नहुँदा बर्दिया कारागारमा पठाउने गरिएको उनले जानकारी दिए । ‘महिला कैदीबन्दी गृह नहुँदा बर्दिया कारागारमा पठाउने गरिएको छ,’ उनले भने, ‘कारागारमा अस्थायी रूपमा एक महिला बन्दी राखिए पनि बर्दिया पठाउनुपरेको छ ।’
कारागारमा कैदीबन्दीका लागि पिउने पानी, सरसफाइ र स्वास्थ्य उपचारको सामान्य सुविधा मात्र रहेको जेलर ढुंगानाले बताए । ‘स्वच्छ पानीका लागि समरसेल र मिनरल वाटरको व्यवस्था गरिएको छ । ए र बी ब्लकमा ११ वटा शौचालय सञ्चालनमा छ,’ उनले भने । आधारभूत तहको विद्यालय सञ्चालनमा रहेको सो कारागारमा कक्षा १–५ सम्म ९८ जना कैदीबन्दी अध्ययनरत रहेको जेलर ढुंगानाले बताए ।
कारागारको प्रशासनिक भवन जीर्ण हुँदा कर्मचारीलाई काम गर्न असहज भएको बताउँदै उनले घर भत्किने डरले बाहिर बसेर काम गर्नुपरेको उनले बताए । ‘जीर्ण भवनमा बसेर काम गर्दा असुरक्षित महसुस भएपछि बाहिर बसेर दैनिक काम गर्नुपरेको छ,’ उनले भने ।
ढुंगानाले अदालतबाट कैदीपुर्जी ढिलो आउने, पुनरावेदन म्यादमा ढिलाइ हुने, कैदीबन्दीका उजुरी समयमा सम्बोधन नहुनेलगायत समस्या देखिएको अनुगमन टोलीका सदस्य वसन्त गौतमले बताए । बाँकेमा क्रियाशील मानव अधिकारकर्मी संस्थाका प्रतिनिधिले कारागारको अनुगमन गरेका हुन् ।