रनवेको लाइट बिग्रिँदा त्रिभुवन विमानस्थल पाँच घण्टा ठप्प

आइतबार, २४ कार्तिक, २०८२
डिजिटल संस्करण
रनवेको लाइट बिग्रिँदा त्रिभुवन विमानस्थल पाँच घण्टा ठप्प

दोहाबाट काठमाडौंका लागि आएको कतार एयरको क्युआर ६४४ नम्बरको जहाज अवतरण हुन नपाएपछि नेपाली आकाशमा फन्को लगाउँदै । यो जहाज ३४ फेरो मारेर बंगलादेशको राजधानी ढाका डाइभर्ट भएको थियो ।

  • १७ आन्तरिक उडान रद्द, तीन अन्तर्राष्ट्रिय जहाज ‘डाइभर्ट’, आकाशमा ३४ फन्को लगाएर ढाका पुग्यो कतार एयरलाइन्स, १३ फेरो मारेर दिल्ली गयो कोरियन एयरलाइन्स

रनवेको लाइट (एभरफिल्ड लाइटिङ सिस्टम) बिग्रिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पाँच घण्टासम्म उडान र अवतरण ठप्प भएको छ । शनिबार बिहान करिब ८ बजेदेखि नै लाइट बिग्रिएकोमा दिउँसो २:३० बजेदेखि ३:३० सम्म मर्मतका लागि तथा अपराह्न ५:३० बजेदेखि राति ९:३० सम्म अँध्यारोका कारण उडान र अवतरण रोकिएका हुन् ।

पाँच घण्टामा आन्तरिकतर्फ १७ उडान र नौ अवतरण रद्द भए भने तीन अन्तर्राष्ट्रिय जहाज ‘डाइभर्ट’ हुनुपर्यो । दोहाबाट आएको कतार एयरलाइन्स नेपाली आकाशमा ३४ फन्को लगाउँदा पनि अवतरण हुने अवस्था नबनेपछि ढाका फर्किएको थियो । त्यस्तै, सिओलबाट आएको कोरियन एयरलाइन्स १३ फेरो मारेर दिल्ली पुगेको थियो । दुबईबाट आएको फ्लाई दुबई पनि ११ चक्कर लगाएर लखनउ फर्किनुपरेको थियो । दिल्लीबाट काठमाडौं आउने सेड्युल रहेको स्पाइस जेटले उडान नै रद्द गर्यो । आन्तरिकतर्फ जनकपुरबाट आएको बुद्ध एयरको जहाज जनकपुर नै फर्कियो भने सुर्खेतबाट आएको बुद्ध एयरकै अर्को जहाज पोखरा डाइभर्ट गरिएको थियो । 

बिग्रिएको बत्ती मर्मतका लागि दिउँसो एक घण्टा तथा अँध्यारो भइसक्दा पनि मर्मत हुन नसकेपछि राति ९:३० बजेसम्म चार घण्टा विमानस्थल ठप्प भएको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए । ‘दिउँसोदेखि खटिएका प्राविधिकहरूले राति ९:३० बजे मर्मत सकेर बत्ती बालेपछि ९:४० देखि विमानस्थल पुन: सञ्चालनमा आयो, सबैखाले उडान र अवतरण खुलिसकेका छन्,’ उनले भने । विमानस्थलको विद्युत् सर्किट ब्रेक भएर लाइटिङ सिस्टममा समस्या आएको अनुमान गरिएको र अनुसन्धानपछि यकिन हुने भुलको भनाइ छ । उनका अनुसार आंशिक रूपमा मात्रै बत्ती बलेका थिए । साढे १३ घण्टापछि मात्रै बत्ती पूर्ण क्षमतामा बलेका थिए । 

सामान्यत: बिहान र दिउँसो भिएफआर प्रणालीमा उडान र अवतरण हुने हुँदा लाइटिङ आवश्यक हुँदैन । तर, घाम अस्ताएपछि भने आइएफआर प्रणालीमा उडान अवतरण हुने भएकाले लाइटिङ चाहिन्छ । साँझसम्म पनि बत्ती नबलेपछि उडान अवतरण नै रोकर मर्मत गरिएको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । ‘साँझसम्म पनि बत्ती नबलेपछि सूचना नै जारी गरेर साढे ५ बजेदेखि विमानस्थल बन्द गरेर समस्या समाधानको काम थालियो,’ उनले भने, ‘साढे ९ बजेपछि समस्या समाधन भयो, बत्ती बल्यो र उडान अवतरण पुन: सुरु गरियो ।’

दर्जनौँ जहाज रद्द र डाइभर्ट हुँदा सयौँ यात्रु अलपत्र परे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ४५० भन्दा धेरै उडान तथा अवतरण हुन्छ । जसमा ३०० देखि ३५० आन्तरिक तथा ९० देखि सय अन्तर्राष्ट्रिय हुन्छन् । जहाँ १५ हजारभन्दा धेरैले यात्रा गर्छन् । 

डाइभर्ट जहाज किन गएनन् भैरहवा ? 
हाल भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल छन् । तर, त्रिभुवन विमानस्थल बन्द हुँदा यी विमानस्थलमा जहाजहरू किन डाइभर्ट भएनन् भनेर प्रश्न उठेको छ । क्यानका अधिकारीहरू जहाजलाई कहाँ डाइभर्ट गर्ने भन्ने विषय सम्बन्धित एयरलाइन्सको छनोटमा भर पर्ने बताउँछन् । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रतापबाबु तिवारीले आफूहरू तयार हुँदा पनि एयरलाइन्सहरू नै भैरहवा नजाने गरेको बताए । शनिबार काठमाडौंमा विमानस्थल बन्द हुँदा भैरहवा र पोखरा विमानस्थल खुलै थिए, तर त्यहाँ जहाँजहरू डाइभर्ट नभएको उनले बताए । 

‘सामान्यत: एयरलाइन्सहरूले सेड्युल फ्लाइटका लागि वैकल्पिक विमानस्थल पनि पहिल्यै तय गरेका हुन्छन्, उनीहरूले आफ्नो सहजता र समन्वयका हिसाबले विमास्थल छनोट गर्छन्,’ उनले भने, ‘भैरहवा विमानस्थल खुलै हुँदा पनि त्यहाँ डाइभर्ट नभएर दिल्ली, लखनउ गए, यो उनीहरूको छनोट हो । हामीले यता आऊ, उता नजाऊ भन्न मिल्दैन ।’

विमानस्थलसँगको दूरी, इन्धनको मूल्य, होटेलसँगको सहकार्य, ग्राउन्ड ह्यान्डलिङ चार्जलगायत हेरेर विमान कम्पनीले जहाज डाइभर्ट गर्ने क्यानकै एक पूर्वप्रमुखले बताए । ‘दिल्ली र ढाकाको तुलनामा काठमाडौंबाट नजिकै रहेकोे भैरहवामा इन्धन, ग्राउन्ड ह्यान्डलिङलगायतमा छुट सुविधा दिँदासमेत एयरलाइन्सको रुचिमा नपर्नु चिन्ताको विषय हो,’ उनले भने, ‘यदि हाम्रा विमानस्थलमा समस्या छन् भने सुधार गर्नुपर्छ, होइन भने क्यानले एयरलाइन्सहरूसँग समन्वय गरेर हाम्रै विमानस्थलको उपयोग गराउनुपर्छ ।’

सुझावित समाचार