सिरहाको लहान नगरपालिका ३ स्थित अस्पताल चोक नजिकै करिब नौ करोड रुपैयाँको लागतमा सुविधा सम्पन्न र अत्याधुनिक प्रविधियुक्त ‘कार्निभल सिनेम्याक्स’ सिनेमा हल संचालन थालिएको छ ।
समाजसेवामा छुट्टै पहिचान बनाएको स्थानीय मुरारका परिवारको लगानीमा निर्मित सिनेमा हलको सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शनिबार साँझ एक समारोहबीच उद्घाटन गरे ।
सिनेमा हल पूर्वाञ्चल क्षेत्रकै पहिलो उच्च प्रविधिमा बनेको पहिलो भएको सिनेम्याक्सका अध्यक्ष अभिनव मुरारकाले जानकारी दिए । उनका अनुसार नवनिर्मित हलमा तीन थरी मूल्यका एक सय ३८ वटा आधुनिक सिट जडान गरिएका छन् ।
‘हललाई मनोरञ्जनको साधन मात्र नभई आन्तरिक तथा बाह्य पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा विकास गरिएको छ’ उनले भने ‘यो एउटा सिनेमा हलमात्रै होइन, लहान क्षेत्रको पर्यटन प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आकर्षक गन्तव्य पनि हो ।’ सूचना प्रविधिमार्फत मनोरञ्जन लिइरहेका युवा र विभिन्न पुस्ताका दर्शकहरुको माग र चाहनालाई मध्यनजर गर्दै अत्याधुनिक प्रविधि जडान गरी हल संचालन थालिएको उनले बताए ।
उनका अनुसार हलमा एडभान्स साउन्ड सिस्टम र ‘प्रोजेक्टर’ जस्ता उच्च प्रविधियुक्त सुविधा उपलब्ध रहेको हलमा दैनिक चार वटा सो संचालन गरिनेछ । हल संचालनसँगै तत्काल ‘क्याफ्टेरिया’ समेत सुरु गरिसकेका संचालकले क्रमशः सपिङ् आउटलेट र स्तरीय रेस्टुरेण्ट पनि खोलिने योजना रहेको मुरारका परिवारले जनाएको छ ।
मधेश प्रदेशको आर्थिक राजधानी बीरगञ्ज बाहेक सुविधासम्पन्न हल नरहेको दाबी गर्दै हल संचालकले लहानमा संचालन थालिएको हलले सिरहा, सप्तरी र उदयपुर आसपासका दर्शकलाई लक्षित गरेको छ । त्यसका साथै, सुविधा सम्पन्न भएकाले सीमावर्ती भारतीय नागरिकलाई समेत आकर्षित गर्ने संचालक पक्षले जनाएको छ ।
सुविधा सम्पन्न नयाँ सिनेमा हल संचालनमा आएपछि स्थानीय, उद्योगी, व्यवसायीहरु समेत उत्साहित भएको जिल्ला उद्योग बाणिज्य संघ लहानका अध्यक्ष विकास शारदाले बताए । ‘मोफसलमा राम्रो सिनेमा हल छैन भन्ने सिरहाबासीको गुनासो अन्त्य भएको छ’ उनले भने ‘कार्निभल सिनेम्याक्स हल लहानको गौरवको हो र यसले लहान क्षेत्रको पर्यटन तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान दिनेछ ।’
लहान नगरपालिका ७ का वडाध्यक्ष रामऔतार शर्माले मनोरञ्ज सम्बन्धी उद्योगमा गरिएको लगानीले मुलुकलाई समृद्धिको दिशातिर अग्रसर गराउने चर्चा गर्दै नेपाललगायत छिमेकी मुलुक भारतको सीमावर्ती बजारबाट आउने दर्शकले लहान बजारलाई आर्थिक रुपले चलायमान बनाउने विश्वास व्यक्त गरे ।